गृहपृष्ठ मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न नयाँ प्रबन्ध
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न नयाँ प्रबन्ध
प्रेस सल्लाहकार भन्छन्- सूचना लुकाउन खोजिएको होइन
सरकारले अबदेखि नयाँ प्रबन्धबाट मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने भएको छ । हरेक विहीबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषदका निर्णय र साताभरका सरकारका गतिविधि सार्वजनिक गर्ने सरकारको तयारी छ ।
त्यसो गर्दा सरकारका निर्णयबारे पत्रकारका प्रश्नलाई समेत सूचना प्रविधि तथा सञ्चारमन्त्रीले जवाफ दिने जनाइएको छ । सरकारले सूचना लुकाएको वा लुकाउनका लागि यस्तो निर्णय लिएको भन्ने आरोप भने सत्य नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालको दावी छ ।
‘सरकारले सूचना लुकाउन खोजेको होइन, मन्त्रिपरिषद्ले बद्नयतपूर्ण निर्णय गर्थ्याे भने ती निर्णय नै आउने थिएनन्,’ प्रेस सल्लाहकार अर्यालले न्युज कारोबारसँग भने, ‘नयाँ शैलीबाट सूचना दिने तयारी छ ।’
सरकारका निर्णय प्रश्नोत्तर शैलीमा हुने उनले जानकारी दिए । सूचना प्रवाहको एउटा प्रणाली स्थापित गर्न सरकारका प्रवत्ता र पत्रकारबीच सवाल जावाफ गर्न लागिएको प्रधानमन्त्री कार्यालयको दावी छ । ‘अब मन्त्रिपरिषद्का निर्णयको रिपोर्टिङ गर्न पत्रकारलाई राती ढुक्नुपर्ने, पानीमा भिज्नुपर्ने, वा भर्याङमा, गेटमा चेपिएर जानकारी लिनुपर्ने छैन,’ अर्यालले भने, ‘अब पत्रकार सम्मेलनमार्फत दस्ताबेज वितरण गर्छौं र सवाल जावाफ हुनेछ ।’
मन्त्रीपरिषद् बैठक सकिएपछि प्रवक्ताले हतार हतारमा निर्णय सुनाउँदा गल्ति हुने हुँदा यस्तो व्यवस्था गर्न लागिएको सरकारको दावी छ । सरकारले निर्णय र सूचना प्रवाहलाई व्यवस्थित बनाउन यस्तो व्यवस्था गर्न लागिएको सरकारको दावी छ ।
प्रकाशित समय १९:१२ बजे
















