गृहपृष्ठ यसरी भयो भेरी बबइको ‘ब्रेक थ्रु’
यसरी भयो भेरी बबइको ‘ब्रेक थ्रु’
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रू’ आज भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आयोजनाको पहिलो चरणको कामको ‘ब्रेक थ्रू’ मा सहभागी भए ।
विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत निर्माण गरिएको सुरुङको ब्रेक–थ्रूका लागि कूल १२ किलोमिटर लम्बाइमध्ये जम्मा दुई मिटर मात्र खन्न बाँकि राखिएको थियो । प्रधानमन्त्री ओलीले मेसिनको स्वीच दवाएर ‘ब्रेक थ्रू’ गरेका हुन् । कुल लागत ३४ अर्बको भेरीबबई बहुउद्देश्यीय आयोजनाले सुरुङको लागी मात्रै १० अर्ब ५६ करोड छुट्याएको आयोजनाका सिनियर डिभिजनल ईन्जिनियर श्री प्रसाद शाहले जानकारी दिए ।
‘अब पावरहाउस निर्माण, खानेपनी ट्यांकी लगायतको थुपै्र काम हुनेछ,’ उनले भने । चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले तोकिएको मितिभन्दा एकवर्ष अगाडि नै सुरुङ खन्ने काम सकेको हो ।
सुरुङ्ग निर्माणका लागि २०७४ कात्तिक २० गते बबईबाट छिराइएको मेसिन झण्डै १८ महिनापछि सुर्खेतको भेरीगंगा नगरपालिकास्थित बाँध निर्माणस्थल चिप्लेमा निस्किएको छ । सम्झौताअनुसार आउँदो चैत १५ गतेसम्म सुरुङ निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो । नेपालमै पहिलो पटक प्रयोगमा आएको टीविएम मेसिनद्वारा सुरुङ्ग निर्माण गरिएकाले कम्पनीले सम्झौता मितिभन्दा करिब एक वर्ष अगाबै काम सकेको हो ।
सुरुङ खन्ने काम सकिएसँगै अब भेरी नदीको पानीलाई सुर्खेत र बर्दियाको सीमामा रहेको बबई नदीमा खसालेर सिँचाइसँगै विद्युत् उत्पादनको काम थालिनेछ । चुनौतिपूर्ण मानिएको सुरुङ निर्माणको काम सफल भएसँगै अब आयोजना समयमै बन्ने निश्चित भएको निर्माणमा संलग्न प्राविधिकहरुको दावी छ ।
चिप्लेमा बाँध बनाएर सुरुङमार्फत प्रति सेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य छ । बबईमा खसालिएको पानीबाट ४८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ ।
यस्तै बबई नदीमा खसालिएको पानीबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यसमेत आयोजनाले लिएको छ । ‘६ किलोमिटर सुरुङ्ग निर्माण हुँदा आएको समस्यामा काम सफल हुने नहुने भन्ने आशंका थियो’ शाहले भने, ‘सोचेजस्तो समस्या नआएपछि काम समयभन्दा पहिल्यै सकिएको हो ।
सिँचाइ विभाग र चीनको चाइना ओभरसिज इन्जिनियरिङ गु्रप कम्पनी (कोभेक) बीच सुरुङ निर्माणका लागि २०७१ माघ १५ गते ठेक्का सम्झौता भएको थियो । स्वदेशी लगानीमै निर्माण हुन लागेको यो आयोजनाको काम २०७१ बाटै सुरु भएको हो ।
प्रकाशित समय १९:३३ बजे

















