गृहपृष्ठ कोरोना संक्रमण नदेखिएपछि वीरेन्द्रनगर क्वारेन्टाइनका १८३ जनालाई घर पठाइयो

कोरोना संक्रमण नदेखिएपछि वीरेन्द्रनगर क्वारेन्टाइनका १८३ जनालाई घर पठाइयो

वीरेन्द्रनगर खुलामञ्चस्थित क्वारेन्टाइन (निगरानी कक्ष) मा बसेका व्यक्तिको ‘थ्रोट स्वाब’ परीक्षणमा कोरोना सङ्क्रमण नदेखिएपछि घर पठाइएको छ । क्वारेन्टाइनमा बस्नुपर्ने अवधि पूरा भएको र कोरोना संक्रमण परीक्षणमा नतिजा ‘नेगेटिभ’ आएपछि शनिबार १८३ जनालाई घर पठाइएको हो ।

खुलामञ्च क्वारेन्टाइनमा बसेका १८८ मध्ये पाँच जनाको रिपोर्ट आउन बाँकी छ । क्वारेन्टाइनको कमाण्ड गरिरहेका नेपाली सेनाको उत्तरपश्चिम पृतनाका सहसेनानी दयाराम ढकालले सुर्खेतका १७ जनालाई शुक्रबार तथा अन्यलाई शनिबार बिदाइ गरिएको जानकारी दिए । नेपाली सेनाको व्यवस्थापनमा प्रदेश सरकारले सञ्चालन गरेको क्वारेन्टाइनमा यही चैत १५ गतेदेखि सुर्खेतका ५७, दैलेखका ८७, कालिकोटका सात, जाजरकोटका २०, जुम्लाका १६ र अछामका एक गरी १८८ जना बसेका थिए ।

क्वारेन्टाइन सञ्चालनमा आउनुअघि उनीहरुलाई चार दिनसम्म होटल, विद्यालय र गैरसरकारी संस्थाको छात्रावासमा राखिएको थियो । उनीहरु सबै भारतबाट फर्किएका हुन् ।

क्वारेन्टाइनको १९ दिन बसाइ सकेर फर्कँदै गर्दा उनीहरु खुशी भएका थिए । सुर्खेतको चौकुने गाउँपालिका–७ का केशव विकले क्वारेन्टाइन बसाइ राम्रो भएको बताए । ‘शुरुशुरुमा जेलका रूपमा बुझेका थियौँ, हाम्रै सुरक्षाका लागि रहेछ स्वास्थ्य परीक्षण पनि भयो,’ उनले भने, अब त गाउँ जाँदा पनि ढुक्क भइयो ।’ नेपाल भारत सीमाक्षेत्रमा अलपत्र पर्दा सरकारले उद्धार गरी सुरक्षित राखेकामा उनले खुशी व्यक्त गरे ।

दैलेख, दुल्लु नगरपालिकाकी विष्ना बिष्टले कोरोनाको त्रास हटेको बताए । ‘भारतबाट आएकाले कतै आफूमा कोरोना छ कि भन्ने त्रास थियो, परीक्षण गर्दा आशंका मेटियो, अब ढुक्क भइयो,’ उनले भने । उनी भारतको सुरतबाट आएका हुन् ।

प्रकाशित समय ०८:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु