गृहपृष्ठ बेपत्ता प्रहरी जवान साउदको पनि मोहनामै शव भेटियो
बेपत्ता प्रहरी जवान साउदको पनि मोहनामै शव भेटियो
धनगढी उपमहानगरपालिका १२ स्थित जुगेडा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको पनि शव फेला परेको छ । शनिवार साँझ ८ बजे मोटरसाइकलमा गस्तीमा गएका बेला बेपत्ता भएका उनको शव आज फेला परेको हो ।
मोहना नदीमा डुबिरहेको अवस्थामा प्रहरी जवान साउदको शव फेला परेको वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए । अहिले शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
सँगै ड्युटीमा निस्किएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक आइतबार बिहान मृत अवस्थामा मोहना नदीमा फेला परेका थिए । तस्करहरूद्वारा हत्या गरिएका उनको अन्त्येष्टि पनि गरिसकिएको छ ।
अभियुक्तको बयानअनुसार सुरुमा प्रहरी जवान साउदमाथि आक्रमण गरेको पाइएको छ । प्रहरीले लिएको बयानका अनुसार तस्करहरूले घेरा हालेर असईमाथि आक्रमण गरेको, सुरुमा जवानको हत्या गरी उनलाई पनि मोहना नदीमा फालेको पाइएको हो ।
त्यसपछि असईको पनि हत्या गरेर मोहनामै फालेका अभियुक्तहरूले बयान दिएका छन् । आइतबारदेखि प्रहरी टोली र स्थानीय साउदको खोजीमा लागेका थिए ।
प्रकाशित समय १२:०६ बजे

















