गृहपृष्ठ गेटा आँखा अस्पतालमा बिरामीको संख्या खस्कियो

गेटा आँखा अस्पतालमा बिरामीको संख्या खस्कियो

धनगढीस्थित गेटा आँखा अस्पतालमा सेवा लिने बिरामीको संख्या खस्कँदै गएको छ । ३७ वर्षअघि स्थापना भएको अस्पतालमा सेवा लिने बिरामीको संख्या बर्षेनी घट्दै गएको छ ।

अस्पतालमा आँखाको जाँचका लागि आउने बिरामीको अनुपात वार्षिक रुपमा उस्तै भए पनि शल्यक्रिया गर्न आउने बिरामीको संख्या भने वर्षेनी ओरालो लाग्न थालेको हो ।

अस्पताल प्रशासनले दिएको जानकारी अनुसार झण्डै ५ वर्षअघि आर्थिक बर्ष २०७०/०७१ म १ लाख ६९ हजार ९ सय २३ जना बिरामीले अस्पतालबाट सेवा लिएका थिए । जसमा शल्यक्रिया गर्ने बिरामीको संख्या मात्रै ३४ हजार ९ सय ९४ थियो । प्रत्येक वर्ष उपचार सेवा लिने बिरामीको सङख्या घट्दै गएपछि ५ वर्षपछि त्यो संख्या झण्डै ८ हजारले घटेर गत वर्ष १ लाख ६१ हजारले मात्रै अस्पतालबाट सेवा लिएका थिए ।

शल्यक्रिया गर्ने बिरामीको सङख्या पनि झण्डै १० हजारले घटेको गेटा आँखा अस्पतालका बाह्य व्यवस्थापक रमेशचन्द्र भट्टले बताए ।

भारतको नैनीताल, लखनउ, पिलिभित, पलिया लगायतका स्थानबाट आँखाका विरामी अस्पतालमा उपचारका लागि आउने गरेकोमा अहिले सो क्रम घटेको छ । भारतको उत्तराखण्ड र उत्तराञ्चल प्रदेशमा सुविधा सम्पन्न आँखा अस्पताल सञ्चालनमा ल्याउदै भारत सरकारले निःशुल्क सेवा दिन थालेपछि अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या घट्दै गएको अस्पतालका निर्देशक डा. सुरेशराज पन्तले बताए ।

गेटा आँखा अस्पताल अन्तरगत ९ वटै जिल्लामा रहेका १२ वटा शाखामा पनि बिरामीको अनुपात उस्तै देखिएको छ । पछिल्लो ५ बर्षको तथ्यांक हेर्ने हो भने अस्पतालका १२ वटा शाखामा कुनै वर्ष सेवा लिने बिरामीको संख्या बढेको छ त कुनै वर्ष घटेको छ । गत वर्ष मात्रै १२ वटा शाखाबाट १ लाख ९ हजारले जाँच गराएका छन् र २ हजार १ सय ३६ जनाको शल्यक्रिया गरिएको छ ।

अस्पतालले प्रदेश ७ का विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गरी २२ हजार ९ सयको आँखा जाँच र ३ हजारको शल्यक्रिया गरेको जनाएको छ ।

विगतमा झण्डै ८० प्रतिशत भारतीय बिरामी आउने अस्पतालमा अहिले भारतीय बिरामी आउने क्रम घटेसँगै अस्पतालले थप सेवा सुचारु गर्ने तयारी गरेको छ । सुदूरपश्चिमाञ्चल विश्व विद्यालयबाट अध्यापनको अनुमति लिँदै अध्यापन पनि गराउने र आँखा सम्बन्धीका थप सेवा सुचारु गर्ने तयारी पनि भइरहेको छ ।

प्रकाशित समय १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु