गृहपृष्ठ घरमै धारा आएपछि अब आनन्द हुने भयो
घरमै धारा आएपछि अब आनन्द हुने भयो
गुर्भाकोट नगरपालिका-९ बोटेचौरकी अमृता सुनारको दैनिकी खानेपानीको जोहोमै वित्ने गर्छ । गाउँ नजिक पानीको स्रोत छैन । करिब एक घण्टाको दुरीमा धारा त छ, तर लाईन लाग्दैमा चार घण्टा बित्छ ।
३५ वर्षीय अमृताले भनिन्, ‘धारामा पानी ल्याउन जाने समय भन्दा तेब्बर पालो कुर्न लाग्छ । बिहान उठेदेखि घरको एकजनालाई धारोमा लाईन लाग्न पठाउनुपर्छ ।’
गुर्भाकोट-७ की सीता बिकको दैनिकी पनि उस्तै हो । खानेपानीको समस्याका कारण अन्य कामलाई समेत हानी पुगेको छ । बिहान उठेदेखि खानेपानीको जोह गर्नमै ठिक्क हुन्छ कसरी अरु काममा ध्यान दिनु ?’ उनी भन्छिन् । सीता मात्रै होइन गुर्भाकोट नगरपालिकाका बासीन्दाहरुलाई सबैभन्दा ठूलो समस्या खानेपानीको छ ।
भेरी नदिको छेउमा रहेको मेहेलुना, बोटेचौर लगाएतका ठाउँका बासिन्दा भेरीको धमीलो पानी खान बाध्य छन् ।
नगरपालिकाका ३३ हजार ४१८ घरधूरीमा खानेपानी पुर्याउने लक्ष्यसहित केही दिन अगाडि ७१ करोड १८ लाख १८ हजार ६३२ रुपैयाँको आयोजना सम्झौता भएको छ । आयोजनाका लागि अमृता र सीताले पनि १५-१५ हजार रुपैयाँ उपलब्ध गराएका छन् ।

‘घरमा पानीको धारा आउने आशमा आधा पेट खाएर पनि पैसा जम्मा गरेर १५ हजार रुपैयाँ नगरपालिकालाई बुझाएकी हुँ’ अमृताले भनिन्, ‘तोकिएको समयमा धारामा पानी आइदिए धेरै सहज हुन्थ्यो ।’
खानेपानीको चर्को समस्या भोगिरहेका नगरपालिकाका चार वटा वडा गुर्भाकोट ६, ७, ८ र ९ का नागरिकका लागि दुई वर्षभित्र खानेपानी पुर्याउने लक्ष्यसहित गुर्भाकोट नगरपालिका, नगर विकास कोष, सहरी खानेपानी तथा सरसफाई आयोजना र सुभाघाट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समूहबीच आयोजना सम्झौतामा हस्ताक्षर भएको छ ।
अब भने घरमै धारा आउने आशामा अमृता र सीता मख्ख परेका छन् । भन्छन्, ‘अब भने आनन्द हुने भयो । बिहानै उठेर धारामा लाइन लाग्न र भेरीको धमीलो पानी खाने समस्या बाट मुक्ती मिल्ने भयो ।’
‘२० वर्षसम्मको यहाँको जनसंख्यालाई धान्ने गरेर आयोजना निर्माण गर्न लागिएको हो’ नगरप्रमुख हस्त पुनले भने, ‘गुणस्तरीय र स्वच्छ खानेपानी पाउने स्थानीयको अधिकारलाई सुरक्षित गर्न हामी प्रतिवद्ध छौं ।’
आयोजनाका लागि उपभोक्ताले तीन करोड ५५ लाख ६५ हजार ९३१ रुपैयाँ जम्मा गरेका छन् । त्यस्तै नगर विकास कोषले १७ करोड ७८ लाख २८ हजार ६५८ रुपैयाँ ऋण उपलब्ध गराएको छ भने संघीय सरकारले ४९ करोड ७९ लाख २३ हजार ४३ रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
सुभाघाट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समूहका अध्यक्ष तथा नगर उपप्रमुख मैना विकले तोकिएकै समयमा आयोजना पूरा गर्ने प्रतिवद्धता जनाइन् । ‘नगरपालिकाको बीचबाट भेरी नदी बगिरहे पनि यहाँका नागरिकले खानेपानीको संकट व्यहोर्दै आउनु भएको छ’ उनले भनिन्, ‘दुई वर्षभित्रै आयोजना निर्माणको काम सम्पन्न गरेर सबै उपभोक्ताको घर-घरमा धारा पुर्याउँछौं ।’
शहरी खानेपानी तथा सरसफाई आयोजनाका उपनिर्देशक नारायणप्रसाद आचार्यले भेरीको पानी लिफ्ट गरेर उपभोक्तालाई वितरण गरिने बताए । ‘यसका लागि दुई वटा इन्टेक, सात वटा पानी ट्याङ्की, दुई वटा खानेपानी प्रशोधन केन्द्र निर्माण हुनेछन्’ उनले भने, ‘पहिलो चरणमा छ हजार चार सय धारा जडान गर्ने लक्ष्य छ ।’
आयोजनाले खानेपानी मात्रै होइन सरसफाई र सार्वजनिक शौचालय निर्माण गर्नेछ ।
प्रकाशित समय १७:०० बजे

















