गृहपृष्ठ अख्तियारका तत्कालीन आयुक्त पाठकविरुद्ध ७८ लाख घुस लिएको आरोपमा मुद्दा दर्ता
अख्तियारका तत्कालीन आयुक्त पाठकविरुद्ध ७८ लाख घुस लिएको आरोपमा मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख घुस लिएको आरोपमा मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्त्व विवादमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको विचाराधीन उजुरीलाई मिलाई दिने भनी तत्कालीन आयुक्त पाठकले उक्त कलेजका सञ्चालक भनिएका लम्बोदरकुमार न्यौपानेबाट ७८ लाख रुपैयाँ घुस लिएको भनी संचार माध्यमहरुमा प्रकाशित समाचारहरुलाई उजुरीका रुपमा दर्ता गरी अनुसन्धान गरेको आयोगले जनाएको छ ।
अनुसन्धान हुँदा तत्कालिन आयुक्त पाठकले आफ्नो पदीय आचरणविपरीतको कार्य गरी आयोगमा विचाराधीन रहेको नेपाल इन्जिनियरिंग कलेजको स्वामित्व विवादसम्वन्धी उजुरी मिलाई दिने भनी घुस लिएको अनुसन्धानका क्रममा आयोगलाई प्राप्त श्रव्यदृश्य सामग्रीहरुबाट समेत पुष्टि भएको आयोगको विज्ञप्तिमा उल्लेख छ । पाठकका विरुद्ध ७८ लाख रुपैयाँ विगो, कैद सजायँ र पदमा हुँदा भ्रष्टाचार गरेकाले थप सजाय माग गरिएको छ ।
यसै प्रकरणसँग जोडिएका राजनारायण पाठकका भाइ शुभनारायण पाठकले घुस लिएको भनिएको १५ लाख रुपैयाँ नेपाल इन्जिनियरिंग कलेजसँग सम्वन्धित नरहेकोले निजले लिएको रकम नयाँ कलेज सम्वन्धनका लागि लिएको भन्ने सम्वन्धमा छुट्टै थप अनुसन्धान गर्ने निर्णयसमेत गरिएको आयोगले जनाएको छ।
प्रकाशित समय १९:१३ बजे

















