गृहपृष्ठ मिटरमा ट्याक्सी सञ्चालन गरी माफी मागेपछि दुर्व्यवहार गर्ने चालक छुटे
मिटरमा ट्याक्सी सञ्चालन गरी माफी मागेपछि दुर्व्यवहार गर्ने चालक छुटे
पोखरामा मिटरमा ट्याक्सी सञ्चालन गर्ने र यात्रुमाथि गरेको दुर्व्यवहारप्रति माफी मागेपछि मंगलबार पक्राउ परेका एक ट्याक्सी चालक बुधबार छुटेका छन् । मंगलबार एक यात्रुमाथि दुर्व्यवहार गर्ने ट्याक्सी चालक अनिल गुरुङले वडा कार्यालय बैदाममा लिखित रुपमै पोखरामा मिटरमा ट्याक्सी सञ्चालन गर्ने र यात्रु दिननाथ बरालमाथि गरेको दुर्व्यवहारप्रति माफी मागेसँगै उनी छुटेका हुन् ।
सञ्चारकर्मी बराल नेपाल पत्रकार महासंघ कास्की र पोखरा ट्याक्सी व्यवसायी समितिबीच भएको बुधबारको वार्तामा समितिले लिखित कुनै प्रकारको पनि सहमति गर्न नसक्ने जनाएको छ ।
समितिका वरिष्ठ उपाध्यक्ष शोभाकान्त सिग्देलले पोखरामा मिटरमा ट्याक्सी सञ्चालन गर्ने विषयमा कुनै पनि हालतमा लिखित रुपमा सम्झौता हुनै नसक्ने बताए । उनले भने, ‘हामी व्यवसायी मर्कामा परेका छौं, हाम्रो आन्दोलन अन्तिम चरणमा पुगेको छ, यो अवस्थामा आएर हामीले मिटरमा ट्याक्सी चलाउने विषयमा मौखिक रुपमा मात्र आह्वान गर्न सक्छौं, अन्यथा लिखित रुपमा कुनै पनि सहमति गर्न सक्दैनौं ।’
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले संस्थागत रुपमा समितिले आफुहरुले भनेको विषयमा नमानेपछि उक्त विषयमा व्यक्तिगत रुपमै मिलापत्र गर्न आह्वान गरेका हुन् । पहिलो चरणको वार्तामा समितिका वरिष्ठ उपाध्यक्ष पौडेल र उपाध्यक्ष रामजी घिमिरेले लिखित रुपमै पोखरामा मिटरमा ट्याक्सी सञ्चालन गर्ने विषयमा तयार भए पनि लिखित रुपमै जाने अबस्थामा एकाएक फोन गरेपश्चात आफूहरुले लिखित रुपमा सहमति गर्न नसक्ने अडान राखेका हुन् । पत्रकार बराल नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव हुन् ।
पोखराको पृथ्वीचोकबाट नदीपुर कोठामा जान खोज्दा पोखराको पृथ्वीचोक (बसपार्क) मा मंगलबार ट्याक्सी चालकहरुले दादागिरी देखाउँदै मिटरमा ट्याक्सी सञ्चालन गर्न नमानी यात्रु बरालमाथि दुर्व्यवहार गरेका थिए । यात्रु बरालले दुईवटा ट्याक्सीलाई कारबाहीको माग गर्दै दुर्व्यवहार गर्ने गुरुङविरुद्ध लिखित उजुरी दिएका थिए । कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले पोखरामा मिटरमा ट्याक्सी सञ्चालन हुनुपर्ने अन्यथा कारबाही गर्ने बताए । धेरै वर्षदेखि वैज्ञानिक भाडा दर कायम नभएकाले आफूहरु मर्कामा परेको पोखरा ट्याक्सी व्यवसायी समितिका अध्यक्ष प्रकाशमणि तिवारीले बताए ।
यो पनि पढ्नुहोस्
मिटरअनुसार पैसा दिन्छु भन्ने यात्रुमाथि ट्याक्सी चालकले गरे हातपात
प्रकाशित समय ०७:३३ बजे

















