गृहपृष्ठ खाने-बस्ने तनाव झेलिरहेका बाराका विद्यार्थीले कसरी दिन्छन् एसईई ?
खाने-बस्ने तनाव झेलिरहेका बाराका विद्यार्थीले कसरी दिन्छन् एसईई ?
अधिकांश विद्यार्थीले किताब र प्रवेशपत्र भेटेनन्, भोलिदेखि सुरु हुँदै परीक्षा
बारामा आइतबार साँझ ७ बजे आएको विनाशकारी हावाहुरीले खुटवा परसौनी गाउँपालिकालगायत हावाहुरी प्रभावित क्षेत्रका हजारौं विद्यार्थी प्रत्यक्ष मर्कामा परेका छन् । प्रदेश २ मा परीक्षाअगावै प्रश्नपत्र आउट भएको भन्दै स्थगन गरिएको एसईईको अनिवार्य विज्ञान विषयलगायत यसपछिका परीक्षा चैत २२ गते शुक्रबार सुरु हुँदैछ ।
बाराका खुटवा परसौनी गाउँपालिका–४ बस्ने सुरेन्द्र साहलाई परीक्षा शुक्रबारदेखि सुरु हुन लागेको जानकारी भए पनि तयारी गर्न कठिन भइरहेको छ । विनाशकारी हावाहुरीले आफूलगायत काकाहरुको घरसमेत भत्किएपछि घरवारविहीन बनेका सुरेन्द्र साहको घरमा भएभरका सरसमान मंगलबार राति १० बजेसम्म निकाल्न सकिएको छैन ।
‘आमा खाना पकाउने सुरसार गर्दै हुनुहुन्थ्यो, म पढ्न खोजिरहेको थिएँ, अचानक आएको हावाले घर उडाएर भत्काएपछि हामी चेपियौं,’ आँखा र टाउकोमा चोट लागेको देखाउँदै साहले भने, ‘अलि हावाहुरी कम भएपछि केराबारी हुँदै छिमेकीको घरमा बसेका थियौं ।’ मंगलबार राति १० बजे जनकपुरधामबाट असहाय संरक्षण मञ्चले बस्तीमै पुगेर राहत सामग्री वितरण गरिरहेको थियो ।
पीडितहरु खुला आकाशमुनि खाना पकाउँदै सुत्दै आएका छन् । विद्यार्थीलाई बस्ने, खाने, सुत्नेभन्दा पनि परीक्षाबारे चिन्ता छ । ‘मेरो कापी, किताब कहाँ छ, अहिलेसम्म पत्ता लागेको छैन, किताबसँगै राखेको प्रवेशपत्रसमेत छैन,’ सुरेन्द्र भन्छन्, ‘बिना प्रवेशपत्रको हामी कसरी परीक्षामा सहभागी हुने ?’ श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खुटवा जब्दीबाट कक्षा १० उत्र्तीण गरेका सुरेन्द्र श्री वैगा साह माध्यमिक विद्यालय परसौनी परीक्षा केन्द्रबाट परीक्षा दिने सुरसारमा थिए ।
उनीसँगै अध्ययनरत रञ्जीत साहको पनि अवस्था उस्तै छ । घर पूर्णरुपमा क्षतिग्रस्त भएकाले परीक्षा तयारीमा उनलाई निकै समस्या भइरहेको छ । ‘शुक्रबारदेखि परीक्षा सुरु हुँदैछ, हामीलाई सुत्ने, खाने व्यवस्थासमेत छैन,’ उनले भने । अहिले गाउँमै मेसमा खाना खाँदै आएका उनलाई परीक्षामा कसरी सहभागी हुने भन्दै चिन्ता छ ।
उनीहरु जस्तै हजारौं विद्यार्थी हावाहुरीको चपेटामा परी घरवारविहीन भएका छन् । जहाँ परीक्षाको तयारी गर्न सम्भव नै छैन । केही सग्ला घरमा बस्ने विद्यार्थीसमेत दिनभरमात्र पढ्न पाउँछन् । गाउँका सबै बिजुलीका पोल ढलेकाले राति पढ्न नमिलेको उनीहरुको दुखेसो छ ।
प्रकाशित समय ०७:५८ बजे
















