गृहपृष्ठ प्रदेश २ सरकार भन्छ- आमसञ्चार विधेयकमा गम्भीर त्रुटि
प्रदेश २ सरकार भन्छ- आमसञ्चार विधेयकमा गम्भीर त्रुटि
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश आमसञ्चार विधेयकमा गम्भीर त्रुटि फेलापरेको बताएका छन् । केन्द्रीय सरकारको मिडिया काउन्सिल विधेयक र प्रदेश सरकारको आमसञ्चार विधेयकविरुद्ध शुक्रबार प्रदेश २ का मुख्यमन्त्रीको कार्यालय घेराउ गर्न पुगेका पत्रकारसामु आएर मन्त्री यादवले भने, ‘प्रदेश सरकारले ल्याएको सञ्चार विधेयकमा गम्भीर त्रुटि भएको छ, यसलाई पूर्णरुपमा संशोधन गर्छौं ।’
आफू कानुनमन्त्री भए पनि राम्रोसँग नपढी हस्ताक्षर गरेकोमा पछुतो लागिरहेको उनको भनाइ छ । ‘हामी स्पष्ट भइसकेका छौं, प्रदेश २ ले पत्रकारलाई सामाचार लेखेकै कारण कुनै प्रकारको दण्डित गर्ने खालको नियम, कानुन ल्याउँदैन,’ उनले भने ।
पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा गएका पत्रकार टोलीले मुख्यमन्त्री कार्यालयको मुख्य प्रवेशद्वारमा सञ्चार सामग्री राखेर चर्को नाराबाजीसमेत गरेको छ । उनीहरुले मिडिया काउन्सिल विधेयक फिर्ता गर, सञ्चारमन्त्री राजीनामा दे, प्रदेश सरकार मुर्दावाद, आन्तरिक मामिला तथा कानुनमन्त्री मुर्दावाद, समाचार लेखेकै भरमा पत्रकारलाई दण्डित गर्न पाइँदैन, करोडौं जरिवाना र जेल सजाय गर्न मिल्दैन लगायतका नाराबाजी गरेका छन् ।
प्रकाशित समय १५:५६ बजे

















