गृहपृष्ठ बिराट बहिरा विद्यालय भवन विस्तार विस्तार गर्न ५० लाख
बिराट बहिरा विद्यालय भवन विस्तार विस्तार गर्न ५० लाख
विराटनगर–५ स्थित बिराट बहिरा माध्यमिक विद्यालयले भवन विस्तार गर्ने भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको ४५ लाख र विद्यालयको आफ्नै ४६५ हजारको लागतमा भवन विस्तार गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका सदस्य तथा भवन निर्माणका इन्जिनियर प्रकाशभक्त जोशीले जानकारी दिए ।
उनले चारवटा कक्षाकोठा, एउटा लाइब्रेरी, साइन्स ल्याब, ड्रइङ हल, शौचालय र बाथरुम ३२ सय वर्ग फिटमा निर्माण गरिने बताए । कक्षा १० सम्म प्राविधिक विषयमा अध्ययन भइरहेको अहिलेको मूल भवनको दोस्रो तलामा थप कक्षाकोठा विस्तार गर्न लागिएको विद्यालयले जनाएको छ ।
बोल्ने, सुन्ने क्षमता नभएका बालबालिकालाई सांकेतिक माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विराट बहिरा माविले अध्ययन–अध्यापनका लागि कक्षाकोठा अभाव हुन थालेपछि दोस्रो तलामा भवन विस्तार गर्ने भएको हो । भवन शिलान्यास गर्दै सामाजिक विकासमन्त्री जीवन घिमिरेले हाल विद्यालय १० कक्षासम्म सञ्चालनमा रहेको भन्दै प्लस टु गर्दै उच्च शिक्षा विस्तारमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रदेश सरकार ऐन, नियम निर्माणको चरणमा रहेकाले सांकेतिक भाषाको विकास र विस्तारमा धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ ।
कार्यक्रममा प्रदेश १ सभाका नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले विद्यालयमा आवाससहितको उच्च शिक्षा अध्ययनको थलोको रुपमा यही आउँदो बजेटमा पार्न प्रदेश सरकारलाई आग्रह गरे । विद्यालयमा प्रारम्भिक बाल कक्षासहित कक्षा १ देखि १० सम्म नियमित कक्षा तथा प्राविधिकतर्फ कक्षा ९ र १० मा सिभिल इन्जिनियरिङको कार्यक्रम सञ्चालनमा छ । हालसम्म १० वटा ब्याचका १३६ बहिरा विद्यार्थीले शतप्रतिशत नतिजासहित एसएलसी, एसइइ परीक्षा उत्तीर्ण गरिसकेको विद्यालयले जनाएको छ ।
प्रकाशित समय १६:०४ बजे
















