गृहपृष्ठ शिक्षिकाको कुटाइबाट १४ विद्यार्थी घाइते, ५ छात्राको हात भाँचियो

शिक्षिकाको कुटाइबाट १४ विद्यार्थी घाइते, ५ छात्राको हात भाँचियो

रोल्पामा शिक्षिकाको कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् । रुन्टीगढी गाउँपालिकामा रहेको भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका हुन् । घाइते हुनेमा कक्षा १ देखि ८ सम्म पढ्ने विद्याथी छन् ।

पाँच जनाको दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा उपचार भइरहेको छ । अन्य ९ विद्यार्थीको स्थानीय मेडिकलमा उपचार गरिएको छ । घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हात भाचिएको छ । उनीहरुको हातमा प्लास्टर गरिएको छ ।

शिक्षिका पुनको कुटाइबाट कक्षा ३ मा पढ्ने नरबहादुर घर्तीको कानको जाली फुटेको बताइएको छ । विद्यालयमा ढिलो आएको भन्दै शिक्षिक पुनले अन्धाधुन्ध लठ्ठीले हानेको पीडित विद्यार्थीहरुले बताए ।

घटनापछि रुन्टीगढी– ८ का वडाध्यक्ष भीमबहादुर घर्तीले औषधि उपचार गर्ने सहमतिमा मिलापत्र गराएका थिए । तर, गहिरो चोट लागेकाले पीडित विद्यार्थीका अभिभावकले प्रहरीमा उजुरी दिएसँगै घटना बाहिर आएको हो ।

प्रकाशित समय १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु