गृहपृष्ठ वर्षाले बाँकेमा दर्जनभन्दा बढी घर भत्किए, सयौँ घर डुबानमा
वर्षाले बाँकेमा दर्जनभन्दा बढी घर भत्किए, सयौँ घर डुबानमा
शनिबार साँझदेखि परेको अविरल वर्षापछि आएको बाढीले बाँकेको नरैनापुर गाउँपालिकाका एक दर्जन बढी घर भत्किएका छन् भने सयौँ घर डुबानमा परेका छन् ।
दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेका गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए। बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहावपुर्वा, रोशनपुर्वालगायतका गाउँका अधिकांश घर डुबानमा परेका छन् ।
सयभन्दा बढी घर डुबेका र झण्डै एक दर्जन घर भत्किएका अध्यक्ष शाहले जानकारी दिनुभयो । निर्माणाधीन हुलाकी राजमार्गमा पनि पानीले क्षति र्पुयाएको छ । पुल तथा कल्भर्ट बनाइएका ठाउँमा पानीले बाटोको दुवैतिर कटान गरेको उनले बताए । वडा नं १ कट्कुइँयास्थित वडा कार्यालयमा समेत पानी पसेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए ।
घरहरुमा पानी पसेपछि गाउँपालिकाका अध्यक्ष शाह नेतृत्वको टोली उद्धारमा खटिएको छ । अविरल वर्षापछि खहरे खोलामा आएको बाढी र आकाशे पानी घरहरुमा पसेको इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रमुख प्रहरी निरीक्षक विरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
नेपालगञ्जमा १०० दशमलव दुई मिलिमिटर वर्षा भएको हावापानी फिल्ड कार्यालयका निमित्त फिल्ड इञ्चार्ज पहलबहादुर विश्वकर्माले जानकारी दिए । अविरल वर्षाले नेपालगञ्जको मुख्यबजार क्षेत्र घरवारीटोल, गणेशपुर क्षेत्र, बसपार्क लगायतका बजार क्षेत्र डुबानमा छन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले डुबानबाट जनधनको क्षति नभएपनि जनजीवन प्रभावित भएको बताए ।
उनका अनुसार डुबान भएका स्थानमा पानीको बहाब खोल्न महानगरका कर्मचारी स्काभेटरसहित तैनाथ छन् । नेपालगञ्जलाई डुबानमुक्त बनाउन यो वर्ष अधिकांश सडक र नाली निर्माण गरिएपनि समस्या भने कायमै रहेको छ । गतवर्षको तुलनामा यो वर्ष कम डुबान हुने प्रवक्ता रिजालको दाबी छ ।
सतर्कता अपनाउन अपिल
लगातारको वर्षाले बाँकेमा सतर्कता तह पार गरेको छ । राष्ट्रिय आपतकालीन उद्धार केन्द्रले आज एक सूचना जारी गर्दै सतर्कता अपनाउन अपिल गरेको छ । चुरेबाट शुरु भई बाँके जिल्ला भएर बहने डुडुवा, मानखोला, झिंझरी लगायतका स–साना सबै खोलानाला आसपास सतर्क रहन सुझाव दिइएको छ । राष्ट्रिय आपत्तकालीन उद्धार केन्द्रले उपमहानगरका होचा स्थानहरुमा पनि डुबान हुनसक्नेतर्फ सचेत बनाएको छ । (रासस)
प्रकाशित समय ०७:०७ बजे

















