गृहपृष्ठ धनकुटामा पनि टेलिकमको फाइबर टु द होम

धनकुटामा पनि टेलिकमको फाइबर टु द होम

telecom-Dhankuta-newskarobar

नेपाल टेलिकमले विश्वमै नवीन र अत्याधुनिक सूचना प्रविधिको रुपमा रहेको एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने एफटीटीएच सेवाको सुरुवात धनकुटामा पनि गरेको छ । कम्पनीले गत शुक्रबार एफटीटीएच अर्थात फाइबर टु द होम सेवाको औपचारिक शुभारम्भ गरेको हो ।

धनकुटामा आयोजित एक कार्यक्रममा एफटीटीएच प्रविधिमार्फत सञ्चालित टेलिफोनबाट प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई काठमाडौंमा फोन गरेर सेवाको उद्घाटन गरे । कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश १ लाई डिजिटल प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गर्दै समृद्ध र डिजिटल नेपाल बनाउने अभियानको नेपाल टेलिकम महत्वपूर्ण सहयात्री रहेको बताए । उनले ०७६ सालभित्रमा प्रदेश १ का सबै स्थानीय तह र सहरमा यो सेवा विस्तार गर्ने तयारी भइरहेको र सो कार्यमा नेपाल टेलिकमको सहयोग रहने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री राईसँगको कुराकानीमा प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकलाई डिजिटलाइज्ड गर्न कम्पनी सक्रिय रहेको र एफटीटीएच सेवालाई अझै लोकप्रिय र प्रभावकारी बनाउन यसमार्फत श्रव्यदृश्यसमेत उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिए ।

कार्यक्रममा वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक प्रमोदकुमार परमारले नेपाल टेलिकमले पुरानो र खर्चालु तामाको तारबाट टेलिफोन र इन्टरनेट उपलब्ध गराउने प्रविधिलाई विस्थापित गर्दै फाइबरमार्फत गुणस्तरीय र द्रुत गतिको सेवा देशभर उपलब्ध गराउने क्रममा धनकुटामा प्रारम्भिक चरणमै सुरु भएको बताए ।

त्यस्तै, धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले सुखी नेपाली समृद्ध नेपालको अभियानलाई साकार पार्न धनकुटा नगरपालिका समेत डिजिटलइज्ड प्रविधियुक्त भएको भन्दै खुसी व्यक्त गरे ।

हाल धनकुटामा जडान गरिएका दुईवटा एफडीसी (फाइबर डिस्ट्रिब्युसन क्याबिनेट) मार्फत ७५२ लाइन एफटीटीएच सेवा वितरण गर्न सकिनेछ । आगामी दिनमा ग्राहकको मागअनुसार क्षमता वृद्धि गरी धनकुटा जिल्लाका सबै क्षेत्रमा सेवा विस्तार गर्ने तयारी कम्पनीको छ ।

नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । यसअन्तर्गत न्यूनतम मूल्य निर्धारण गरी एक वर्षका लागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध छ । नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर र एक सय मिटर फाइबर निःशुल्क प्राप्त गर्नेछन् । साथै, नयाँ लाइन जडानकर्ताहरुले तीन महिनासम्म जति कुरा गरेपनि पैसा नलाग्ने गरी छु्टको व्यवस्था गरिएको छ ।

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु–याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी छ । पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले समेत एफटीटीएच सेवा अपग्रेड गरी लिन सक्छन् । यो आईपीमा आधारित सेवा हो ।

प्रकाशित समय २१:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु