गृहपृष्ठ फेवातालको सीमांकनका लागि केन्द्र सरकार गम्भीर हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

फेवातालको सीमांकनका लागि केन्द्र सरकार गम्भीर हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

fewatal-prithwi-subba-newskarobar

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले फेवाताल संरक्षणमा रकमभन्दा तालको सीमांकन मुख्य कुरा भएको बताएका छन् । नेपाली खाना प्रवर्धनात्मक कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले फेवातालको संरक्षण गर्ने विषयमा पहिलो काम तालको सीमांकन हुने बताए ।

फेवातालको सीमांकनका लागि केन्द्र सरकारलाई गम्भीर हुन मुख्यमन्त्रीले आग्रह गरे । नापी विभागबाट एक प्रतिनिधि तालको सीमांकनका लागि तत्काल पठाउनुपर्ने उनले बताए । ‘फेवाताल संरक्षण गर्न पहिलो काम तालको सीमांकन हो, त्यससँगै अतिक्रमणका क्रममा व्यक्तिका लालपुर्जा भएकाहरुको लागि उचित मुआब्जाको व्यवस्था गर्नुपर्छ, व्यक्तिगत सम्पत्तिको संरक्षण गर्ने हाम्रो नीति नै छ,’ उनले भने, ‘संघ सरकारले फेवातालको सीमांकन टुंग्याएको भोलिपल्ट प्रदेश सरकारले पिल्लर गाड्न सुरु गर्छ ।’

फेवातालको वरिपरि फुट ट्रयाक खोल्ने विषयमा कतैबाट जानकारी नभएकाले बजेट विनियोजन नगरिएको उनले बताए । ‘प्रदेश सरकारले पर्यटन क्षेत्रमा कम लगानी ग–यो भनेर हामी आलोचित भएका छौं, अघिल्लो वर्ष हामीले खर्च गर्न नसकिने योजनामा बजेट विनियोजन गर्दा धेरै खर्च गर्न सकेनौं, आगामी वर्ष त्यसो नहोस् भन्नका लागि हामीले खर्च हुने ठाउँमा मात्र बजेट विनियोजन गरेका हौं,’ उनले भने, पोखरामा पर्यटकको बसाइ अवधि लम्ब्याउनका लागि प्रदेश सरकारले जति पनि खर्च गर्न तयार छ ।’

आन्तरिक भ्रमण वर्षको अवसरमा पोखराको स्पेसल खाना के हो त्यसको प्रवर्धन गर्नुपर्ने मुख्यमन्त्री गुरुङले बताए । रेवान पोखराको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवर्धनमा पोखराको बाराहीघाटको खेल मैदानमा आयोजित एकदिने कार्यक्रम शुक्रबार राति ११ बजेसम्म चलेको थियो ।

प्रकाशित समय २१:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु