गृहपृष्ठ रौतहटमा आलमको पक्षमा कांग्रेसको जुलुस
रौतहटमा आलमको पक्षमा कांग्रेसको जुलुस
बम विस्फोटपछि घाइतेहरूलाई इँटाभट्टामा हालेर जिउँदै जलाएको आरोपमा प्रहरी हिरासतमा रहेका सांसद मोहम्मद आफताब आलमको पक्षमा नेपाल कांग्रेसले रौतहटमा जुलुस निकालेको छ । रौतहट कांग्रेसले घटनाको निष्पक्ष छानबिनको माग गर्दै शुक्रबार मौन जुलुस निकालेको हो ।
जुलुसका सहभागीले आलमका पक्षमा विभिन्न नारा लेखिएका प्लाकार्ड बोकेका छन् । जुलुस गौरको बीपीचोकदेखि जिल्ला अदालत र मुख्य सडक हुँदै नेपाली कांग्रेसको पार्टी कार्यालय पुगेको थियो ।
आलमलाई थप ८ दिन धुनामा राखी अनुसन्धान गर्न शुक्रबार अदालतले अनुमति दिएको छ । उनीमाथि प्रहरीले तीन मुद्दामा अनुसन्धान गरिरहेको छ । १२ वर्षअघि २०६४ चैत २७ गते राजपुरमा भएको बम विस्फोट र विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर जलाएको आरोपमा आलमलाई प्रहरीले असोज २६ गते पक्राउ गरेको थियो ।
आलमले भने आफूलाई राजनीतिक प्रधिशोधमा पक्राउ गरिएको बताएका छन् । यसअघि, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि आलमको पक्राउलाई कांग्रेसविरूद्धको षड्यन्त्र भएको बताएका थिए । चाैतर्फी विरोध भएपछि उनले आफ्नो भनाइ सच्याउनुपरेको थियो ।
प्रकाशित समय १३:२० बजे

















