गृहपृष्ठ बलात्कारको आरोपित र पीडितलाई बिहे गराइदिने प्रयास
बलात्कारको आरोपित र पीडितलाई बिहे गराइदिने प्रयास
केटा पक्षको असहमतिपछि जाहेरी लिएर प्रहरीमा
धनुषाको हंसपुरमा बलात्कारका आरोपित र पीडित युवतीबीच बिहे गराइदिने प्रयास भएको खुलेको छ । तर स्थानीय ‘पञ्चायत’को सो प्रस्तावमा केटा पक्ष असहमत भएपछि पीडित पक्ष प्रहरीकहाँ पुगेको छ । स्थानीयहरूका अनुसार घटनाकाे भोलिपल्ट गत कार्तिक ३० गते बसेको पञ्चायतले बिहे गराइदिने प्रयास गरेको थियो ।
स्थानीय महिलाहरुले बलात्कारका आरोपितलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन माग गर्दै बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा धर्ना दिएका छन् । प्रहरीले पीडकलाई बचाउन खोजेको उनीहरुको आरोप छ ।
आरोपित प्रविण कापरलाई तत्काल पक्राउ गर्न र पीडित युवतीलाई न्याय दिलाउन धर्नामा बसेका हंसपुर नगरपालिका– ४ का स्थानीय महिलाहरुले माग गरेका छन् । आरोपित २३ वर्षीय कापर भने फरार रहेको बताइएको छ ।
गत कार्तिक २९ गते राति कोही नभएको मौकामा घरमै गई कापरले पीडित युवतीमाथि बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित युवतीकी आमा र दाजुले जिल्ला प्रहरी कार्यालयले जाहेरी दर्ता गराउनसमेत नमानेको गुनासो गरेका छन् ।
धर्नामा आएका स्थानीय रामलखन दास र रामचन्द्र दासले आरोपितका परिवारले उल्टै आफ्नो छोरालाई बेपत्ता पारेको भन्दै पीडित परिवारविरुद्ध प्रहरीमा जाहेरी दर्ता गराउन खोजेको बताए । आरोपित प्रविणका काका विजय र दिलीप दुवै हाल जिल्ला प्रहरी कार्यालय धनुषामै कार्यरत रहेको तथा बुवासमेत पूर्वप्रहरी भएकाले घटनालाई दबाउने प्रयास भइरहेको दासद्वयको आरोप छ ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीले जाहेरीमा निवेदकको हस्ताक्षर नभएको तथा पीडितको वास्तविक नाम, वतन खुलाइएको र अर्को गोप्य गरी २ प्रकारको जाहेरी नआएकाले मुद्दा दर्तामा ढिलाई भएको बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाले अब पीडित पक्षलाई बोलाएर जाहेरी दर्ता गराउने र थप कारबाही अगाडि बढाउने डीएसपी कार्कीको भनाइ छ ।
प्रकाशित समय १७:५७ बजे


















