गृहपृष्ठ हेलिकप्टरबाटै कालापानी क्षेत्रको निरीक्षण गरेर फर्किए उपप्रधानमन्त्री पोखरेल

हेलिकप्टरबाटै कालापानी क्षेत्रको निरीक्षण गरेर फर्किए उपप्रधानमन्त्री पोखरेल

तीन-तीन किलोमिटर क्षेत्रमा भारतीय सुरक्षा पोष्ट

जिल्ला सदरमुकाम खलंगाबाट आज बिहान कालापानी क्षेत्रको निरीक्षण भ्रमणमा निस्केका उपप्रधानमन्त्री ईश्वर पोखरेल हवाई निरीक्षण गरेर फर्किएका छन् । कालापानीमा सेना राख्दै आएको भारतले पछिल्लो समय आफ्नो नक्सामा समेटेपछि नेपाल र भारतबीच विवाद रहेको छ।

सीमा निरीक्षणका क्रममा उपप्रधानमन्त्री पोखरेलका साथमा सांसद गणेशसिंह ठगुन्ना, प्रदेशसभा सदस्यद्वय मानबहादुर धामी र गेल्बुसिंह बोहरा तथा उपप्रधानमन्त्रीका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठलगायत १० जनाको टोली सहभागी थियो ।

व्यास क्षेत्रमा बाक्लो हिउँ जमेका कारण हेलिकोप्टर अवतरण हुननसकेपछि अतिक्रमित क्षेत्रको निरीक्षण गरेर फर्किएको टोलीमा सहभागी सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी बडालले बताइन् । ‘हेलिकोप्टर ल्यान्ड हुने अवस्था भएन,’ उनले भनिन्, ‘हेलिकोप्टरबाटै भारतले अतिक्रमण गरेको क्षेत्र हेरियो ।’

भारतले तीन-तीन किलोमिटर क्षेत्रमा राखेका सुरक्षा पोष्ट देखाइएको उनले बताइन् । उनले भनिन्, ‘हाम्रोतिर निकट भविष्यमै सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट (बीओपी) राख्ने प्रस्तावित स्थलसमेत देखाइएको छ।’  

सीमा क्षेत्र निरीक्षणपछि सदरमुकाम खलंगा प्रेस संगठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा रक्षामन्त्रीसमेत रहेको पोखरेलले नेपालका सीमा क्षेत्रमा क्रमशः सुरक्षा पोष्टहरु थपिँदै जाने बताए । ‘भारतसँग सीमाको विषयमा सरकारले कुराकानी गर्छ,’ रक्षामन्त्री पोखरेलले भने, ‘सुगौली सन्धिपछि नेपाल सरकारले भारतलाई डेप्लोमेटिक नोट लेखेको यो पहिलोपटक हो । हामी भारतसँग सीमाको  छलफल गर्छौं, कुरामात्र हैन ।’

प्रकाशित समय १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु