गृहपृष्ठ नेप्से १४०० नजिक, दुई दिनमै ५३ अंकको वृद्धि, साढे ४ अर्बको कारोबार
नेप्से १४०० नजिक, दुई दिनमै ५३ अंकको वृद्धि, साढे ४ अर्बको कारोबार
सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले बढ्न थालेको छ । नेप्से बढ्ने आशामा साना र नयाँ लगानीकर्तासमेत बजारमा प्रवेश गर्न थालेपछि माग उच्च बढेको छ । फलतः केही कम्पनीको मूल्य १० प्रतिशतसम्म बढेको छ ।
लगानीकर्ताको मनोबल बढेसँगै नेप्से परिसूचक दुई दिनमै ५३.६५ अंकले बढेको छ भने ४ अर्ब ६६ करोड ५६ लाखभन्दा बढी मूल्यको सेयर किनबेच भएको छ । आइतबार १ अर्ब ९७ करोड तथा सोमबार २ अर्ब ६८ करोडको सेयर खरिद‑बिक्री भएको हो । सोमबार नेप्से ३४.२६ अंकले बढेको छ ।
आइतबारभन्दा सोमबार धेरै कित्ता सेयर किनबेच भएको छ । सोमबार १७५ कम्पनीको ६४ लाख ७४ हजार ७५० कित्ता सेयर किनबेच भएको छ । आइतबार ४१ लाख ५ हजार १३४ कित्ता सेयर खरिद‑बिक्री भएको थियो ।
सोमबार शिवम सिमेन्टको १२ करोड ९४ लाख, शिखर इन्स्योरेन्सको ११ करोड २१ लाख तथा हिमालयन डिस्टिलरीको १० करोड २९ लाख रुपैयाँको सेयर किनबेच भयो । नेपाल लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनआइसी एसिया, नेपाल इन्स्योरेन्स, एनएमबी बैंक, एसियन लाइफ इन्स्योरेन्स र ग्रामीण विकास लघुवित्त बढी कमाउने १० कम्पनीको सूचीमा छन् ।
त्यस्तै पञ्चकन्या माई हाइड्रोपावर, ङादी ग्रुप पावर र राष्ट्रिय बिमा कम्पनीको सर्वसाधारण तथा संस्थापक सेयरको सेयरमा सकारात्मक सर्किट लागेको छ । अरुण काबेली, सेन्ट्रल फाइनान्स, नबिल इक्विटी फन्ड, हिमालयन पावर पार्टनर, हिमालयन बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक सर्वाधिक मूल्य बढ्ने १० कम्पनीको सूचीमा छन् ।
सोमबार व्यापार, बैंक र जलविद्युत समूह धेरै बढेका छन् भने बाँकी समूहको वृद्धि सामान्य छ ।
साना लगानीकर्ता धेरै
सेयर बजार लगातारजसो बढ्न थालेपछि साना र नयाँ लगानीकर्ता प्रवेश गर्न थालेका छन् । सोमबार २४ हजार ८०५ वटा ट्रान्जेक्सन हुन्दा करिब ९५ प्रतिशत सेयर एक लाख रूपैयाँभन्दा कमका ट्रान्जेक्सन भएका छन् । एक लाख रूपैयाँमाथिका ट्रान्जेक्सन गन्न सकिने खालका छन् ।
स्वावलम्बन लघुवित्त, नेसनल लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी, साना किसान विकास बैंक, नेपाल इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्सलगायत केही कम्पनीका एउटा‑एउटा ट्रान्जेक्सनमात्र ५ लाख रूपैयाभन्दा बढीका छन् । यसको अर्थ बजारमा ठूला र संस्थागत लगानीकर्ताभन्दा साना लगानीकर्ताको बाहुल्य छ ।
यो पनि पढ्नुस्
नेप्सेमा १९ अंकको वृद्धि, २ अर्बको कारोबार, ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो
प्रकाशित समय १६:१४ बजे

















