गृहपृष्ठ लकडाउनकै अवधिमा २६ महिला बलात्कृत

लकडाउनकै अवधिमा २६ महिला बलात्कृत

महिला हिंसा र बलात्कारको विरोधमा गत वर्ष कलेज लेभलका विद्यार्थीले काठमाडौंमा निकालेको र्‍याली । फाइल तस्बिर

लकडाउनको अवधिमा (चैत ११ देखि वैशाख १९ गतेसम्म) महिला पुनःस्थापना केन्द्र (ओरेक) मा १७६ वटा महिला तथा बालिका हिंसासम्बन्धी घटना दर्ता भएका छन् । तीमध्ये २६ घटना बलात्कारका छन् भने ५ वटा बलात्कार प्रयासका छन् ।

ओरेकले सञ्चालन गरिरहेको तीन हटलाइन र २८ जना मनोपरामर्शदातामार्फत यी घटना दर्ता भएका हुन् । महिला तथा बालिका हिंसाका अन्य घटनामा १०३ घरेलु हिंसा र १५ सामाजिक हिंसा छन् । यो अवधिमा एउटा हत्या, दुई हत्या वा आत्महत्या अनुसन्धानका क्रममा रहेको, सात यौन दुर्व्यवहारका घटना, ११ आत्महत्या, दुई हत्याको प्रयास र दुई साइवर अपराधसँग सम्बन्धित घटना छन् ।

सामान्य अवस्थामा जस्तै हिंसामा पीडक परिवारकै सदस्य बढी भएको पाइएको छ । हिंसा गर्ने व्यक्तिमा सबैभन्दा बढी ७८ जना श्रीमान् र ३७ जना परिवारका सदस्य रहेको पाइएको छ । यस अवधिमा संकलन भएका २६ बलात्कारका घटनामध्ये दुई सामूहिक बलात्कार, १८ छिमेकी, एक बाबु, एक आफ्नै दाजु, एक परिवारका सदस्य, तीन प्रेमी ठानिएका व्यक्ति र दुई पहिचान नखुलेका व्यक्ति रहेका ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिएका छन् ।

यी घटनालाई उमेर समूहका आधारमा हेर्दा सबैभन्दा बढी १७ देखि २५ वर्ष उमेर समूहका ५५ महिला हिंसाबाट प्रभावित भएका छन् । २६ देखि ३५ वर्षका ४५, ३६ देखि ४५ उमेरका २७, ४६ वर्षभन्दा माथि उमेरका १७, १६ वर्षभन्दा कम उमेरका २५ बालिका र उमेर समूह थाहा नभएका सात जना हिंसाबाट प्रभावित भएको ओरेकले जनाएको छ ।

ओरेकका अनुसार यी घटनामा ७४ प्रहरीमा उजुरी दर्ताका लागि गएका, २२ मेलमिलाप समितिमा गएका, २१ हिंसा सहन नसकेर आमाबाबु वा आफन्तको घरमा बेसेका र बाँकी प्रभावितले कुनै निकायमा सहयोगका लागि हाल उजुरी गरिनसकेका देखिन्छन् । विश्वभर फैलिएको कोरोना महामारीको समयमा पनि महिला तथा बालिकामाथि हुने वा हुन सक्ने हिंसालाई उचित किसिमले सम्बोधन गर्ने संयन्त्र आवश्यक रहेको ओरेकले बताएको छ ।

क्वारेन्टाइनमा बस्ने महिला तथा बालबालिकाको हितमा ओरेकले छुटै स्थानको व्यवस्थापन गर्न माग गरेको छ । लकडाउनमा बढी महिला हिंसाको सिकार भएको जिल्ला सिरहाबाट ३५, मोरङबाट २६, धनुषाबाट २३, कैलालीबाट २०, दाङबाट १४, सुनसरीबाट १२ र रुकुमबाट नौ छन् ।

प्रकाशित समय १५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु