गृहपृष्ठ साढे पाँच करोडभन्दा बढी लागतको ‘मोटरेवल पुल’ निर्माण अन्तिम चरणमा

साढे पाँच करोडभन्दा बढी लागतको ‘मोटरेवल पुल’ निर्माण अन्तिम चरणमा

पोखरा महानगरपालिका–१३ र मादी गाउँपालिका–५ जोड्ने विजयपुर खोलामाथिको मोटरेवल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । काउँखोला, सिक्लेस, दूधपोखरी सडकखण्डमा पर्ने सो पुल सङ्घीय सरकारको पाँच करोड ६५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विसं २०७५ मंसिरमा शिलान्यास गरेको सो पुल निर्माणको ठेक्का रायमाझी द क्याराभान जेभी काठमाडौँ ठेकेदार कम्पनीले पारेको थियो ।

डबल स्पान प्रविधिबाट निर्मित ५७ मिटर लम्बाइ र ११ मिटर चौडाइको सो पुलको दायाँबायाँ रेलिङ राख्ने र पैदलमार्गको काम मात्र बाँकी छ । असार मसान्तसम्ममा सम्पूर्ण काम सम्पन्न हुने ठेकेदार कम्पनीका इञ्जीनियर विजय थकालीले जानकारी दिए ।

पुलको पूर्वउत्तरको भागमा दुई करोड रुपैयाँ लागतमा लगभग ४०० मिटर लम्बाइमा ग्याभिन तारजाली भर्ने काम भइरहेको छ । तारजालीबाट मोटरेवल पुलसँगै स्थानीय फाँटको समेत संरक्षण हुने प्रदेशसभा सदस्य मनबहादुर गुरुङले बताए । उनका अनुसार काउखोलाबाट पर्यटकीय गाउँ सिक्लेस हुँदै हिमालपारिको जिल्ला मनाङ जोड्ने सो सडकखण्डअन्तर्गत नवनिर्मित पुलदेखि १० किलोमिटर बाटो निर्माण भइरहेको छ ।

प्रदेश सरकारको २२ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको सो बाटोको स्तरोन्नति गरी कालोपत्र गर्ने कार्यक्रम रहेको उनले बताए । बाँकी झण्डै ७० किलोमिटर सो सडक क्रमागतरूपमा निर्माण गरिने कार्यक्रम रहेको उनको भनाइ छ ।

पक्की पुल निर्माणसँगै बाह्रै महिना यातायातको सुविधा पुग्ने बताउँदै प्रदेशसभा सदस्य गुरुङले बाटोको स्तरोन्नतिसँगै मादी गाउँपालिकाका स्थानीय बासिन्दाको आयआर्जनसमेत वृद्धि हुने विश्वास व्यक्त गरे ।

प्रकाशित समय ०७:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु