गृहपृष्ठ विदेश पठाइदिन्छु भन्दै अढाइ लाख लिएर एक वर्ष बन्धक

विदेश पठाइदिन्छु भन्दै अढाइ लाख लिएर एक वर्ष बन्धक

सांकेतिक तस्बिर

लिबिया र कुवेत पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम लिएर बन्धक बनाएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरी टोलीले चितवनको राप्ती नगरपालिका ९ का उद्धव घतानी र झापा मेची नगरपालिका १० का गोरे भन्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

घतानीले एक नेपाली युवालाई लिबियामा मिल्क पाउडर कम्पनीमा काम लगाइदिने प्रलोभनमा पारेर १ लाख ६० हजार रुपैयाँ र १ हजार अमेरिकी डलर लिई यूएईको दुबई हुँदै लिबियाको त्रिपोली पुर्‍याएका थिए । २०७५ भदौमै त्रिपोली पुर्‍याएका उनलाई २०७६ साउन ८ गतेसम्म बन्धक बनाएर राखेको घटनाको अनुसन्धान गर्न ब्युरोबाट खटिएको प्रहरीले जनाएको छ ।

श्रेष्ठले तीन जना नेपाली महिलालाई पनि कुबेत पठाउने भनी भारतको नयाँ दिल्ली पुर्‍याएर एक अपार्टमेन्टमा बन्धक बनाएको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ । श्रेष्ठलाई उनकै घरबाट प्रहरीले असार ७ गते पक्राउ गरेको हो । प्रहरीले  नयाँ दिल्लीको एक अपार्टमेन्टमा बन्धक बनाइराखेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा उद्धार गरी तीन महिलालाई घर फर्काइसकेको छ ।

दुवै जनाविरुद्द मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको   छ ।

प्रकाशित समय १८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु