गृहपृष्ठ कर्णाली राजमार्ग : यात्रुका लागि ‘सास्तीमार्ग’

कर्णाली राजमार्ग : यात्रुका लागि ‘सास्तीमार्ग’

क्षतिग्रस्त साँफे-मार्तडी सडक ।

बाढीपहिरोका कारण कर्णाली राजमार्गमा यात्रा गर्ने नागरिकहरुले सास्ती पाउनु कुनै नौलो होइन । वर्षाको समयमा आउने पहिरो र बाढीले यो राजमार्ग ‘सास्तीमार्ग’नै भएको छ । बाढीपहिरोमा परेर बर्सेनि धेरैले ज्यानसमेत गुमाउने गरेका छन् ।

गत एक हप्तायता पहिरोका कारण कर्णाली राजमार्ग ठप्प छ । राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि यात्रा सास्तीपूर्ण भएको हो । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार गत एक हप्तादेखि राजमार्गका विभन्नि स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । दैलेखमा एक र कालिकोटदेखि जुम्लासम्मका क्षेत्रमा दुई गरी तीन ठाँउमा पहिरो खसेपछि कर्णाली राजमार्ग अवरुद्ध भएको प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलले जानकारी दिए ।

एसएसपी बास्तोलाका अनुसार दैलेखको टालेकोट, कालिकोटको गगने र राकमक्षेत्रमा पहिरो खसेको हो । ‘पहिरो हटाउँदै यात्रु पठाइरहेका छौं । राजमार्ग पूर्ण रुपमा खुलाउने प्रयास भइरहेको छ,’ उनले भने । राजमार्गको अन्य क्षेत्रमा भने अवरोध हटाउने काम भएको उनले बताए ।

कर्णाली राजमार्गमा पहिरोका कारण बर्सेनि सडक अवरुद्ध भइरहन्छ । खडेरीमा समेत सुख्खा पहिरोका कारण कर्णालीमा धेरैले ज्यान गुमाउने गरेका छन् । आर्थिक वर्ष २०७७/७८ मा साउन १ गतेदेखि अठार दिनमा मात्रै पहिरो तथा बाढीमा परी कर्णालीमा २२ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांक छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार सबैभन्दा बढी कालिकोटमा १७ जनाको ज्यान गएको हो । त्यस्तै रुकुमपश्चिममा ३, जाजरकोटमा १ र सुर्खेतमा १ जनाले ज्यान गुमाएका हुन् । पहिरोमा तथा बाढीमा परी ज्यान गुमाउनेहरुको तीन वर्षको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७४/७५ मा प्रदेशभर ३७, २०७५/७६ मा ५६ र २०७६/७७ मा ४३ जना रहेको छ ।

कर्णाली राजमार्गमा अवरोध हटाइँदै ।

प्राकृतिक घटना मात्रै होइन मानवीय त्रुटिका कारण हुने सडक दुर्घटना समेत कर्णाली राजमार्गमा बढी छ । त्यसो त कर्णाली राजमार्गलाई ‘मृत्युमार्ग’को पनि भन्ने गरिएको छ । साँघुरो राजमार्गमा पर्ने खोलाहरुमा पुल नहुँदा वर्षाको समयमा यात्रा गर्न कठिन छ । राजमार्गका अधिकांश क्षेत्रमा खोला पर्ने र वर्षौदेखि बन्दै गरेका पुलहरु समयमै नबन्दा वर्षाको समयमा यात्रा गर्न कठिन भएको हो ।

राजमार्गमा विभिन्न स्थानका खोलाहरुमा नयाँ पुलहरु समेत निर्माण हुँदैछन् । राजमार्गमा २०७४ सालदेखि बन्दै गरेका १२ वटा पुल भने लकडाउनका कारण समयमै काम नसकिएको सडक डिभिजन सुर्खेतका सुचना अधिकारी इन्जिनियर देवेन्द्र भट्टराईले जानकारी दिए । उनका अनुसार समयमा काम सक्नेगरी चारवटा प्याकेजमा राजमार्गमा पर्ने १२ वटा र तल्लो डुंगेश्वर सियाकोट सडकखण्डमा ३ वटा गरी १५ वटा पुल निर्माणाधीन अवस्थामा छन् ।

प्रकाशित समय १३:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु