गृहपृष्ठ तरलता थुप्रिएपछि घट्यो ब्याजदर, अधिकांश बैंकको ब्याज १० प्रतिशतभन्दा कम

तरलता थुप्रिएपछि घट्यो ब्याजदर, अधिकांश बैंकको ब्याज १० प्रतिशतभन्दा कम

विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोनाभाइरस (कोभिड‑१९) नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण समग्र क्षेत्र दबाबमा परेका छन् । लकडाउनले देशको अर्थतन्त्रमा मन्दी आएको छ, लगानीका क्षेत्र संकुचन भएका छन् भने जनजीवन अस्तव्यस्त बनेको छ ।

लकडाउनका कारण पसल, बजार र उद्योग क्षेत्र बन्द भएपछि कर्जाको माग शून्यबराबर छ । ‘साउनमा ठूलो मात्रामा कर्जा प्रवाह हुन्थ्यो,’ माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला भन्छन्, ‘अहिले शून्य बराबर छ ।’ अझै केही समय बैंकहरु अधिक तरलताको दबाबमा रहने उनले बताए ।

एनएमबी बैंकबाट पनि चालू आर्थिक वर्ष २०७७/७८ लागेपछि कर्जा प्रवाह निकै कम छ । गत वर्षको तुलनामा १० प्रतिशत पनि कर्जा नगएको एनएमबी बैंकले जनाएको छ । निक्षेप संकलन भने गत वर्षको तुलनामा धेरै भइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बजारमा २ खर्बभन्दा बढी तरलता छ । लगानी गर्न आत्मविश्वास नबढेपछि लगानीकर्ताले बैंकमा रकम जम्मा गर्न थालेका हुन् ।

लामो समयको लकडाउनले नयाँ कर्जा प्रवाह नहुँदा बैंकहरुको आम्दानीको स्तर पनि खुम्चिएको छ । बैंकहरुमा अधिक तरलता देखिएपछि रिभर्स रिपोमार्फत राष्ट्र बैंकले २० अर्ब रुपैयाँ खिचिसकेको छ तर निक्षेप संकलन धेरै भएकाले त्यसले बजारलाई सन्तुलनमा राख्न सकेको छैन । अधिक तरलता भएपछि बैंकहरुले ग्राहकलाई विभिन्न अफरसहित कर्जा लिनका लागि आग्रह गरिरहेका छन् ।

यस्ता छन् बैंकका अफर

ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायी कर्जा (एसएमई लोन) ८.९९ प्रतिशत ब्याजदरमै उपलब्ध गराउने भएको छ । साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने र लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै दिइएको यो सुविधाअन्तर्गत तीन दिनमै कर्जा प्राप्त हुने ग्लोबल आइएमईले जनाएको छ । तर, पनि बैंकले कर्जा प्रवाह गर्न सकेको छैन ।

मुक्तिनाथ विकास बैंकले पनि ‘मुक्तिनाथ ग्राहक विशेष लाभ योजना’ नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ । न्यूनतम ब्याजदर, ४८ कार्य घण्टाभित्र कर्जा स्वीकृति हुने, नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट दिने, एक वर्षसम्म ब्याजदर परिवर्तन नगरिने, कर्जा सेवा शुल्क अधिकतम १ प्रतिशतमात्र लिने, विना सुरक्षण शुल्कमा लकर सुविधा प्राप्त हुनेलगायतका आकर्षक योजना अघि सार्दा पनि कर्जा प्रवाह अप्रत्यासित सुस्त छ ।

त्यस्तै, सनराइज बैंकले ९.९५ प्रतिशतमा सरल एसएमई कर्जा उपलब्ध गराउने बताएको छ । उद्यम तथा व्यवसाय सञ्चालन गर्न साना व्यवसायीलाई सहज ढंगले तत्कालै कर्जा उपलब्ध गराउने बैंकको उद्देश्य छ । ‘सनराइज सरल एसएमई कर्जा’ अन्तर्गत ग्राहकले एक करोडसम्मको कर्जा सहुलियत ब्याजदरमा प्राप्त गर्न सक्ने र कर्जाका लागि प्रचलित धितो आवश्यकताको लागि समेत केही छुट प्रदान गर्ने बैंकले जनाएको छ । बैंकको यो अफरले पनि ग्राहक तान्न सकेको छैन ।

बैंकले सहज तथा सरल किस्ताबन्दीमा घर निर्माण, घर तथा जग्गा खरिद र सेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ । सनराइज घर कर्जाअन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिका लागि ८.९५ प्रतिशत ब्याजदरमा घर जग्गा कर्जा लिन पाउने गरी बैंकले सेयर धितो कर्जामा ९.९५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाएको छ । आवास कर्जा योजनाअन्तर्गत ऋणीका लागि निर्माण लागतको शत प्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, दुई वर्षसम्म ब्याजमात्र भुक्तानी गर्न सकिने, घर निर्माणमा अग्रीम कर्जा प्रवाह तथा निःशुल्क दुर्घटना बिमा जस्ता आकर्षक सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

सांग्रिला विकास बैंकले पनि ‘सांग्रिला सेयर कर्जा योजना’ सार्वजनिक गरेको छ । ‘सांग्रिला सेयर कर्जा योजना’ अन्तर्गत ९.९९ प्रतिशत ब्याजदरमा सेयर खरिद अगाडि नै कर्जा सीमा प्रदान गरिने र आफूसँग भएको सेयर धितो राखेर पनि कर्जा लिन सकिने जनाएको छ । ग्राहकले आवश्यक प्रक्रिया पूरा गरेको बढीमा दुई दिनभित्र कर्जा पाउने बैंकले जनाएको छ ।

त्यस्तै सिद्धार्थ बैंकले ९.५५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा दिने भएको छ ।  कोभिड १९ महामारीले व्यवसायमा परिरहेको असहज परिस्थितिलाई सहजीकरण गर्ने उद्देश्यले ‘जस्तोसुकै परिस्थिति होस्, नरोकियोस् केही गर्ने जोस’ नारासहित बैंकले यो योजना सार्वजनिक गरेको हो ।

मेगा बैंकले पनि दुई दिनमै साना तथा मझौला (एसएमई) कर्जा उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । बैंकले दसौँ वार्षिकोत्सवको अवसर पारेर ८.३२ प्रतिशत ब्याजदरमै कर्जा दिने गरी योजना ल्याएको हो । एक करोड रुपैयाँसम्म कर्जा लिन सकिने र ब्याजदर एक वर्षसम्म नबढ्ने बैंकले जनाएको छ ।

उल्लिखित बैंक तथा वित्तीय संस्थाबाहेक विभिन्न कम्पनीहरुले विगतको तुलनामा ब्याजदर ६ प्रतिशतसम्म घटाएका छन् । बैंकहरुले विगतमा दुई पांग्रे सवारी साधनका लागि कर्जा दिने नगरेकोमा यसपटक अफरसहित सेवाग्राहीलाई आकर्षित गरिरहेका छन् ।

प्रकाशित समय १२:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु