गृहपृष्ठ विश्वविद्यालयमा परम्परागत परीक्षा प्रणाली नै अन्तिम विकल्प हो ?
विश्वविद्यालयमा परम्परागत परीक्षा प्रणाली नै अन्तिम विकल्प हो ?
२०७६ साल चैतको महिना थियो, नेपालका प्रायः सबै विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु सेमेस्टरको अन्तिम परीक्षाको तयारीमा थिए । त्यही बखतमा विश्वव्यापी रुपमा नै कोभिड १९ जस्तो गम्भीर ढंगको स्वास्थ्य संकट आएलाग्यो । संसारभर यसले सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक लगायतका सबै क्षेत्रमा नराम्रोसँग असर देखायो । नेपालमा पनि जब एसईई परीक्षा स्थगित भयो, त्यसपश्चात् अन्य तहमा अध्ययनरत विद्यार्थीमा पनि परीक्षाबारे अन्योल सिर्जना भयो । समयसँगै नेपालमा पनि कोरोना संक्रमितको संख्या दिनप्रति दिन बढ्दै गयो । नेपालको एक प्रतिष्ठित विश्वविद्यालय काठमाडौँ विश्वविद्यालयले आफ्नो सबै विद्यार्थीलाई आन्तरिक मूल्यांकनको आधारमा अर्को सेमेस्टरमा बढुवा गर्ने र तत्कालै अनलाइन विधिमार्फत आगामी सेमेस्टरको पठनपाठन सुरु गर्ने निर्णय लियो । सोही निर्णयका कारण हजारौँ विद्यार्थीको सेमेस्टर लस हुने हो कि भन्ने अन्योलताको अन्त्य भयो । तर, नेपालका अन्य ठूला विश्वविद्यालय र शिक्षा मन्त्रालय भने दुई‑तीन महिना कार्यविधि बनाउनमै व्यस्त भए । फलतः लाखौँ विद्यार्थीमा सेमेस्टर लसको चिन्ता बढ्न गयो, मानसिक तनाव सिर्जना भयो ।
अहिले धेरै विश्वविद्यालयले भदौ महिनाको मध्यतिर परीक्षा गर्ने भनेर भने पनि कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएमा सम्भव नहुने देखिन्छ । त्यसो हुँदा विश्वविद्यालयले परीक्षाको वैकल्पिक बाटो नरोज्ने र त्यही पुरानो परम्परागत परीक्षा प्रणाली नै अन्तिम विकल्प हो भन्ने मुडे विचार राख्दा हजारौँ विद्यार्थीको समय बर्बाद हुने र उनीहरु मानसिक रोगको सिकार बन्न सक्ने अवस्थता छ । अब पनि हाम्रो विश्वविद्यालयले परम्परागत परीक्षा प्रणालीको विकल्प नखोज्ने हो भने हजारौँ विद्यार्थीको भविष्य अन्योल हुने निश्चित देखिन्छ । त्यसैले अबका दिनमा विश्वविद्यालय र शिक्षा मन्त्रालयका उच्च प्रतिनिधिले यस विषयमा यथाशीघ्र उचित कदम चाल्न जरुरी छ ।
अब बैकल्पिक परीक्षा प्रणालीको सन्दर्भमा पहिलो विकल्पमा प्रविधिको प्रयोग गरी सेमेस्टर सिस्टमको परीक्षा अनलाइन विधिमार्फत गर्ने हुनसक्छ । नेपालको भूगोल र पूर्वाधार विकासको कारणले पूर्णरुपमा यो विधि सम्भव नहुन पनि सक्छ । नेपालका धेरै जिल्लामा अझै इन्टरनेटको पहुँच नहुँदा यो वैकल्पिक विधिको कार्य सम्पादनमा प्रश्न उब्जिन सक्छ । त्यसैले जति सम्भव हुन्छ, यस विधिबाट परीक्षा सञ्चालन गर्ने र नसकेको खण्डमा अर्को विकल्पमा जाने व्यवस्था गर्दा विद्यार्थीलाई धेरै मर्का नपर्ला ।
वैकल्पिक विधिमा विद्यार्थी पढेको कलेजले नै विद्यार्थीले पहिले पहिलेको वर्षमा गरेको प्रस्तुति, उसको कलेजमा रहेको उपस्थिति, अनुशासनलगायतलाई आधार मानेर पनि नतिजा प्रकाशन गर्न सक्छ । अन्तिममा बाहिर देशका विश्वविद्यालयले धेरै पहिलेदेखि लागू गरेजस्तै हाम्रा विश्वविद्यालयले विद्यार्थीलाई पाठ्य विषयसँग सम्बन्धित असाइनमेन्ट दिएर पनि मूल्यांकन गर्न सक्छन् ।
येस्ता विकल्प अपनाएर विश्वविद्यालयले विद्यार्थीको मूल्यांकन गरी छिट्टै आगामी सेमेस्टरको पढाइ सुरु गरे हजारौँ विद्यार्थी मानसिक तनावबाट गुज्रिनु पर्दैन थियो । उनीहरु आफ्नो भविष्यप्रति धेरै चिन्तित हुँदैन थिए ।
(दाहाल नेपाल इन्जनियरिङ कलेजमा अध्ययनरत छन् ।)
प्रकाशित समय १३:३४ बजे

















