गृहपृष्ठ राष्ट्रिय झन्डा जलाएको अभियोगमा एकजना पक्राउ
राष्ट्रिय झन्डा जलाएको अभियोगमा एकजना पक्राउ
नेपालको राष्ट्रिय झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन । उनलाई महानगरीय अपराध महाशाखा, काठमाडाैंको टोलीले पक्राउ गरेको हो । महाशाखा स्रोतका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।
मुलुकी अपराध संहिताले राष्ट्रिय गान वा राष्ट्रिय झण्डा अपमान वा क्षति गर्न निषेध गरेको छ । यदि यस्तो कसूर गरे ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।
मंगोल हप अफिसियल नामक युट्युब च्यानलबाट सोमबार अपलोड भएको ‘देशद्रोही’ शीर्षकको उक्त भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाइएको छ । युट्युबमा हालेलगत्तै यसमा तीव्र प्रतिक्रिया आउन थालेका थिए । यस गीतमाथि तत्काल एक्सन लिन सबैले प्रहरीलाई आग्रह गरेका छन् । कारबाहीको माग गर्दै एकपछि अर्कोले सेयर गर्दा आजमात्रै युट्युबमा भिडियोको भ्युज लाखाैं पुगेको छ ।
भिडियोमा देखिने विद्यालयको बोर्डका आधारमा मकवानपुरको बाग्मती गाउँपालिकास्थित विष्णु आधारभूत विद्यालयको प्रांगणमा गीतको सुटिङ गरिएको देखिन्छ ।
प्रकाशित समय १६:१२ बजे

















