गृहपृष्ठ नेपालमा अहिलेसम्मकै उच्च संक्रमण, एकैदिन १,०१६ जना संक्रमित थपिए
नेपालमा अहिलेसम्मकै उच्च संक्रमण, एकैदिन १,०१६ जना संक्रमित थपिए
पछिल्लो २४ घण्टाभित्र नेपालमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १ हजार १६ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । अब नेपालमा संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।
बितेको २४ घण्टामा थप ८५ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको छ । यस्तै देशभर १० हजार ५६३ सक्रिय संक्रमित रहेका छन् भने आज १३ हजार ४६१ पीसीआर परीक्षण भएको छ । यस्तै हालसम्म मृतकको संख्या ११४ पुगेको छ ।
लकडाउन खुलेसँगै जनसंख्या बढी चाप रहेका सहरी क्षेत्रमा कोरोना संक्रमण दर बढ्दो अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसबाहेक प्रदेश २ का जिल्लाहरुमा पनि कोरोना संक्रमण बढ्दो छ ।
कोभिड-१९ का कारण गम्भीर अवस्थामा पुगेका १ सय जना बिरामी देशका विभिन्न अस्पतालका आईसीयु र भेन्टिलेटरमा पुगेका छन् । मन्त्रालयकाे तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ४७ जना आईसीयू र ६ जना भेन्टिलेटरमा संक्रमित उपचाररत छन् । जसमा सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आईसीयूमा १४ जना, युनिफाइड अस्पताल बलम्बुमा ८ जना, त्रिवि शिक्षण अस्पतालको आईसीयूमा ५ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जना, ह्याम्स अस्पताल धुम्बाराहीमा ७ जना, धुलिखेल अस्पताल धुलिखेलमा २ जना र वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १ जना आईसीयूमा उपचाररत छन् ।
कोरोना संक्रमित ६ जनाको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । मन्त्रालयका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जना र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उपत्यकाबाहिर ४८ जनाको आईसीयूमा उपचार भइरहेको छ ।
प्रकाशित समय १६:२६ बजे

















