गृहपृष्ठ दैलेखमा निषेधाज्ञा
दैलेखमा निषेधाज्ञा

दैलेखमा चार दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । बिहीबार भदौ ४ गते दिउँसो २ बजेदेखि ७ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो ।
तीजलाई लक्षित गरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । जिल्ला कोभिड‑१९ संकट व्यवस्थापन केन्द्र दैलेखको बिहीबार बसेको बैठकले जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको क्षेत्रीले बताए । ‘चाडवाडमा मानिसहरुले धेरै भीडभाड गर्न खोज्छन्,’ उनले भने, ‘दैलेखमा केही संक्रमितको कन्ट्रयाक ट्रेसिङसमेत भइरहेकोले निषेधाज्ञाले संक्रमण फैलन पाउँदैन र सहज वातावरण सिर्जना हुन्छ ।’
यससँगै जिल्ला प्रशासन कार्यालय दैलेखले चारपटक सम्म निषेधाज्ञा जारी गरिसकेको छ । पहिलो चरणमा नारायण नगरपालिका दैलेख र महावु गाउँपालिका, त्यस्तै दुल्लु नगरपालिका र ठाँटिकाँध गाउँपालिकामा पनि कोरोनाभाइरस संक्रमण बढेपछि निषेधाज्ञा जारी गरिएको थियो ।
प्रकाशित समय १५:२९ बजे