गृहपृष्ठ नेकपा कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझायो

नेकपा कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझायो

विवादका अन्य विषय महाधिवेशनबाट टुंगो लगाउन सुझाव

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयले कार्यदलको प्रतिवेदन बुझेका हुन् ।

दुई अध्यक्षले साउन ३० गते पार्टीको आन्तरिक विवाद मिलाउन महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेको कार्यदल बनाएका थिए । कार्यदल गठनलाई सचिवालय बैठकले अनुमोदन गरेको थियो ।

कार्यदलले सर्वसम्मतिले प्रतिवेदन तयार पारेर अध्यक्षद्वयसमक्ष बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । कार्यदलले २०७६ मंसिर ४ मा भएको सहमतिअनुसार ओलीले पूर्णरुपमा सरकार चलाउने निचोड निकालेको बताइएकाे छ । यसका साथै दाहालले पार्टीको पूर्ण अधिकार लिने, मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेर पनि गरिने भएको छ ।

कार्यदलका एक सदस्यका अनुसार स्थायी कमिटीको बैठकलाई नियमित एजेण्डामा लैजाने, प्रधानमन्त्रीको राजीनामा बैठकको एजेण्डा नबनाउने, सैद्धान्तिक तथा विवादका अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने र चैतमा महाधिवेशन गर्नेगरी सुझाव दिइएको छ । त्यस्तै महत्वपूर्ण राजनीतिक नियुक्ति गर्दा पार्टीमा छलफल गरेरमात्रै गर्नेलगायतका कुरा पनि समेटिएको छ ।

ओलीको दुवै पदबाट राजीनामा माग भएपछि टसमस नहुने देखिएपछि दाहाल नेपाल समूहले पार्टीको नीति र सहमतिअनुसार अघि बढेमा तत्काल दुवै पदबाट राजीनामा दिनु नपर्ने पक्षमा पुगिसकेको छ ।

सरकारले पार्टी विभाजन र संवैधानिक आयोग गठनसम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा विवाद उत्पन्न भएको थियो । चाैतर्फी विरोध भएपछि उक्त दुवै अध्यादेश सरकारले फिर्ता लिए पनि नेकपाको आन्तरिक विवाद भने झनै उत्कर्षमा पुगेको हो । ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने प्रचण्ड-नेपाल समूहको माग थियो । ओलीले भने राजीनामा नदिने बरू जस्तोसुकै चुनाैतीकाे पनि सामना गर्ने बताएका थिए ।

प्रकाशित समय १७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु