गृहपृष्ठ काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता लम्बियो, स्वरूप केही परिवर्तन हुने
काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता लम्बियो, स्वरूप केही परिवर्तन हुने
काठमाडौं उपत्यकाका तीन जिल्लामा दुई सातादेखि जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।
दैनिक जीवनलाई केही सहज बनाउने गरी निषेधाज्ञाको अवधि थप भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । उनका अनुसार यसबारे केहीबेरमा विस्तृत जानकारी सार्वजनिक हुनेछ । आजको निर्णयअनुसार अब, काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा जारी रहनेछ ।
औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि पनि रोक लगाइएको थिएन । यद्यपि, बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने भनिएको थियो । नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउजाउ गर्न सक्ने भनिएको थियो ।
उपत्यकाभित्र दोस्रोपटक थप गरिएको निषेधाज्ञाको समय आज राति १२ बजेबाट सकिँदैछ । मंगलवार तीनवटै जिल्ला प्रमुख जिल्ला अधिकारीको भर्चुअल मिटिङले विभिन्न विकल्पसहित सहमतिमा निषेधाज्ञाको मोडालिटी गृहमा पठाइएको थियो ।
काठमाडौं उपत्यकामा आज थप ३ सय ८८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ५० जना, भक्तपुरमा ९ जना र ललितपुरमा २९ जनामा कोरोना भाइरसको संक्रमण भएको हो ।
प्रकाशित समय १७:४१ बजे

















