गृहपृष्ठ पुतलीसडकको हविगत (तस्बिरहरुसहित)
पुतलीसडकको हविगत (तस्बिरहरुसहित)
कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन गरेको (चैत ११) केही दिनपछि भत्काइएको पुतलीसडक अझै बनेको छैन । काठमाडौँ जिल्लाको मध्यभागमा पर्ने पुतलीसडक क्षेत्र लकडाउनकै बीचमा बनाइसक्ने योजनासहित भत्काइए पनि अझै नबनेको हो । सडक नबनेपछि सडक आसपासका घर र सो सडक भएर हिँड्ने सवारी साधन धुलोमा पुरिने गरेका छन् ।
दूरदराजका विकास आयोजनामा अनेक किसिमका समस्या आइरहने, समयमा नबन्ने, गुणस्तरका नबन्नेलगायतका समस्या धेरै देखिन्छन् । तर, मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको पर्खालसँग जोडिएको पुतलीसडक पनि समयमा कालोपत्रे नहुने दुःखद रहेको स्थानीय बताउँछन् ।
टिआर इन्फ्रास्ट्रक्चरले ११ करोडमा ठेक्का पाएको यो सडक लकडाउनका कारण निर्माणमा ढिलाइ भएको सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपाली बताउँछन् । ‘लकडाउनका सुरुवाती चरणमा सबै कार्य रोकिएको थियो,’ उनी भन्छन्, ‘सरकारले पछि मात्र सुरक्षा मापदण्ड पूरा गरेर निर्माण कार्य अघि बनाउन दियो, यसै कारण समयमा काम सकिएन ।’
सरकारले निर्माण कार्य अघि बढाउन अनुमति दिए पनि तत्कालै कामदार आइनपुगेको र नयाँ कामदार नपाएकाले कामले तीव्रता पाउन नसकेको नेपालीले बताए । ‘यो सडकमा ढल निकासको ठूलो समस्या थियो,’ उनी भन्छन्, ‘अब कहिल्यै ढल निकासमा समस्या नआउने गरी बनाएका छौँ ।’
डिभिजन प्रमुख नेपालीका अनुसार हालसम्म सडकको ढल व्यवस्थापन भइसकेको छ । फुटपाथको काम पनि सकिने लागेको उनले बताए । ‘फुटपाथ अपांगमैत्री बनाइएको छ,’ उनले भने, ‘तपाईंले केही दिनभित्रै पुतलीसडकमा धेरै चेन्ज देख्नुहुन्छ, असोजभरमा सबै क्लियर गर्छौँ ।’
सडक डिभिजन कार्यालय काठमाडौँले अघि बढाएको जयबागेश्वरी‑चाबहिल, चुच्चेपाटी‑चाबहिल र ओम हस्पिटल‑चाबहिल सडकको अवस्था पनि जर्जर छ । विद्युत प्राधिकरण सडक भत्काउनुअघि नै तार भूमिगत गर्न थालेको सो सडक विस्तार तथा निर्माणको काम अझै सकिएको छैन । कालोपत्रे गरिएको जयबागेश्वरी–मित्रपार्क खण्ड पनि भत्किन थालेको छ । डिभिजन प्रमुख नेपाली भने प्राधिकरणले गहिरो खाडल बनाएको ठाउँमा दबेको र त्यसको पनि मर्मतसम्भार चाँडै हुने बताउँछन् ।
त्यहाँ पानी, ढल र सडकको काम एउटै ठेकेदारलाई दिइएकाले समय लागेको उनको तर्क छ । ‘अब असोजभरमा दुवै सडक सम्पन्न भइसक्छन्,’ उनले भने ।
प्रकाशित समय १३:०२ बजे




















