गृहपृष्ठ उपत्यकामा निषेधाज्ञा खुकुलो, पसल-व्यवसाय खुला, सवारी साधनमा जोर-बिजोर
उपत्यकामा निषेधाज्ञा खुकुलो, पसल-व्यवसाय खुला, सवारी साधनमा जोर-बिजोर
उपत्यकाका तीनवटै जिल्ला प्रशासन प्रमुखको संयुक्त बैठकले बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । बुधबारको निर्णयअनुसार अब १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन जोर-बिजोर प्रणालीमा सञ्चालन हुने भएको छ ।
निजी सवारी साधनमा पनि जोर-बिजोर प्रणाली लागू हुने काठमाडौँका प्रजिअ जनकराज दाहालले जानकारी दिए । त्यस्तै, पसल र व्यवसायहरु दिनभरि चल्न पाउने निर्णय भएको छ । बिहान ११ बजेसम्म र बेलुका ४ बजेदेखि डिपार्टमेन्टल स्टोर र सपिङ मल पनि खोल्ने निर्णय भएको दाहालले जानकारी दिए ।
अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने प्रजिअ दाहालले बताए । तर, काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने पहिलेकै प्रावधान लागू गरिनेछ । धेरै मानिसहरुको जमघट हुने क्षेत्र शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र बन्द नै रहनेछन् ।
काठमाडौं उपत्यकामा भदौ ३ गते मध्यरातबाट लागू भएको पूर्ण निषेधाज्ञाको पछिल्लोपटक थपिएको समय बुधबार मध्यरात सकिँदै छ ।
प्रकाशित समय १८:१३ बजे

















