गृहपृष्ठ ‘ठूलालाई खुवाउनुपरेपछि’ हुम्लाको लिमीमा खाद्य संकट
‘ठूलालाई खुवाउनुपरेपछि’ हुम्लाको लिमीमा खाद्य संकट
लिमी गाउँ ।
हुम्लाको नाम्खा गाउँपालिका ६ लिमीका तीनवटा गाउँमा खाद्य संकट सुरु भएको छ । सदरमुकामसँग वर्षमा ६ महिनामात्र सम्पर्क हुने हिमालपारिको गाउँ लिमीमा कोरोना महामारीका कारण चीनको तिब्बतीयन पठार पुराङबाट आवश्यक खाद्य सामग्री आउन नपाउँदा खाद्य संकट सुरु भएको हो ।
राजनीतिक दलका जिल्लास्तरीय नेता र तालुक सरकारी कार्यालयहरूका मानिसहरू समूह–समूहमा लगातार गएपछि उनीहरूको खानपान व्यवस्था गर्दा दैनिक उपभोग्य वस्तु सकिएको लिमीबासीले बताएका छन् । खाद्य अभाव सुरु भएपछि नाम्खा गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र नेपाल खाद्य सुरक्षा तथा व्यापार कम्पनी हुम्ला शाखाबाट आवश्यक कागजात लिएर जिम्मेवार मन्त्रालय र सम्बन्धित निकाय धाइरहेको सांसद छक्कबहादुर लामाले जानकारी दिए ।
यसैबीच, खाद्य अभाव सुरु भएपछि लिमीबाट चार दिन हिँडेर सदरमुकाम आइपुगेका लिमीबासी आपतकालीन बैठक बसेका छन् । हिल्छा र लाप्चा नाका बन्द हुँदा खाद्य समस्या देखिएको नाम्खा गाउँपालिका ६ का अध्यक्ष पाल्जोर तामाङले बताए । ‘हिउँ नपर्दै तत्काल ६–७ महिनाका लागि खाद्यान्नको बन्दोबस्त मिलाउन सदरमुकाममा आएका हौँ,’ उनले भने, ‘माग सुनुवाइ नभए धर्ना बस्नेछौं ।’ तत्काल खाद्यान्न व्यवस्था नभए लिमी क्षेत्रका करिब १२ सय मानिसक भोकमरीमा पर्नेछन् ।
नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी जिल्ला शाखा हुम्लाका प्रमुख रामबहादुर बिष्टले केही दिनमै लिमीमा खाद्यान्न पुग्ने बताए । ‘छिट्टै खाद्यान्न आइपुग्छ, लिमीबासी आत्तिनै पर्दैन,’ उनले भने ।
प्रकाशित समय १६:५४ बजे

















