गृहपृष्ठ वामदेव विरूद्धको रिटमा सुनुवाइ स्थगित

वामदेव विरूद्धको रिटमा सुनुवाइ स्थगित

राष्ट्रिय सभा सदस्यमा मनोनित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरूद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ स्थगित भएको छ । न्यायाधीशहरुको गणपूरक संख्या नपुगेकाले बुधबार पनि संवैधानिक इजलास स्थगित भएको हो ।

बुधबार सुनुवाइ स्थगित भएसँगै मुद्दाको निरुपण दसैंपछि सर्ने निश्चितप्रायः छ । अब घटनास्थापनाअघि शुक्रबार मात्रै संवैधानिक इजलास तोकिने दिन छ । कोरोना संक्रमणका कारण अधिकांश न्यायाधीश क्वारेन्टिन र केही आइलोसेलनमा रहेकाले शुक्रबारको सुनुवाइ पनि रोकिने सम्भावना छ ।

असोज १६ गते शुक्रबार वामदेव पक्षका वकिलहरु धेरै भएका कारण सुनुवाई नसकिँदा मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । त्यसपछिको बुधबार (असोज २१) र शुक्रबार (असोज २३) प्रधानन्यायाधीशसहित होम आइसोलेसनमा भएकाले सुनुवाई हुन सकेन ।

सरकारले प्रतिनिधि सभा चुनाव हारेका गौतमलाई राष्ट्रिय सभामा मनोनित गरेसँगै रिट परेको हो । रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय सभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी बनाइएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गत असोज ४ गते रिट दायर गरेका हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा गौतमलाई असोज १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८६ (२) को खण्ड ‘ख’ बमोजिम राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् ।

प्रकाशित समय १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु