गृहपृष्ठ कर्णालीमा दुई वर्षमा डेढ सय चोरीका घटना

कर्णालीमा दुई वर्षमा डेढ सय चोरीका घटना

गत आव २०७६/७७ मा ६२ वटा चोरीका घटनामध्ये सुर्खेतमा मात्रै ३५ घटना

फाइल तस्वीर

जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्तिसहित असोज १९ गते ३ जना पक्राउ परे । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाको टोलीले दुईटा मूर्तिसहित चोरीमा संलग्नलाई पक्राउ गरेको हो ।

मूर्तिसँगै चोरीमा संलग्न चन्दननाथ नगरपालिका १० जुम्लाका ३२ वर्षीय सुशील विष्ट, तातोपानी गाउँपालिका ८ का २८ वर्षीय जयलाल थापा र २३ वर्षीय सुदीप रावललाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भइरहेको छ । २०७३ मंसिर ११ गते चन्दननाथ नगरपालिका ५ मा रहेको चन्दननाथ मन्दिरबाट मूर्ति चोरी भएको थियो । संस्कृत भाषामा लिपिवद्ध चाँदीको धातुजस्तो दुईटा मूर्तिसँगै चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो ।

२०७५ पुसमा उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका एक वडाध्यक्ष मूर्तिचोरीको आरोपमा पक्राउ परे । शे-फोक्सुण्डो गाउँपालिका ४ स्थित राहाप गुम्बाका बौद्धमूर्ति चोरीको आरोपमा डोल्पोबुद्ध गाउँपालिका ५ का वडाध्यक्ष ३५ वर्षीय कार्मा गुरुङलाई काठमाडौ बौद्धबाटै प्रहरीले पक्राउ गरेको थियो ।

शे-फोक्सुण्डो गाउँपालिका ४ साल्दाङस्थित राहाप गुम्बाकै बौद्धमूर्ति चोरीको आरोपमा शे-फोक्सुण्डो गाउँपालिका ४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका १ का ४१ वर्षीय झ्याम्पा छुल्डिम लामा वडा ३ का ४३ वर्षीय छिरिङदावा गुरुङ र शे-फोक्सुण्डो गाउँपालिका ४३ वर्षीय पासालुण्डुप गुरुङलाई विशेष अनुसन्धान ब्युरो सिआइबी परिचालित गरि काठमाडौंको बौद्घबाटै पक्राउ गरेको थियो ।

कर्णाली प्रदेशका माथिल्लो क्षेत्रमा महँगा धातुका मूर्ति चोरी हुने क्रम बढेको छ । शहरी क्षेत्रमा मोबाइललगायतका सामाग्रीहरु चोरी हुने गरे पनि माथिल्लो क्षेत्रमा मूर्तिलगायतका धातुहरु चोरी हुने गरेका हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०७५/७६ मा प्रदेशका १० जिल्लामा ९४ चोरीका घटना दर्ता भएका थिए । जसमध्ये सबैभन्दा बढी प्रदेश राजधानी सुर्खेतमा ४९, दैलेखमा ५, जाजरकोटमा ५, रुकुम पश्चिममा १८, सल्यानमा १, जुम्लामा ५, डोल्पामा ५, हुम्लामा ५, मुगुमा १ वटा घटना दर्ता भएका हुन् ।

त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा प्रदेशभर ६२ वटा चोरीका मुद्दा प्रहरीमा दर्ता भएका थिए । सुर्खेतमा ३५, दैलेखमा २, रुकुम पश्चिममा ८, सल्यानमा ९, जुम्लामा ३, डोल्पामा १, हुम्लामा ३ र कालिकोटमा १ वटा चोरीका मद्दा दर्ता भएका हुन् । त्यस्तै आर्थिक वर्ष २०७७/७८ को असोज २३ गतेसम्म प्रदेशभर १३ वटा चोरीका मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ । पछिल्लो समय चोरीका घटनाको प्रकृति फरक भएका छन् । मोबाइल, महँगा धातुका मूर्ति तथा गरगहनाहरु बढी चोरी हुने गरेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

लकडाउनको समयमा भने चोरीका घटना खासै नभएको प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी बसन्तकुमार पन्तले बताए । ‘लकडाउनमा मानिसहरु घरमै छन्,’ उनले भने, ‘यो समयमा खासै चोरीका घटना भएका छैनन् ।’ उनले विगतका चोरीका घटनाका सम्बन्धमा भने घरमा कोही नभएको मौकामा बढी चोरी हुने गरेको बताए । प्रहरीको सक्रियतासमेत बढेकाले चोरीका घटनामा कमी आएको उनले तर्क गरे ।

प्रकाशित समय १२:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु