गृहपृष्ठ प्रधानमन्त्रीको स्वागतार्थ आयोजित कार्यक्रममा तिहारको शुभकामना आदानप्रदान

प्रधानमन्त्रीको स्वागतार्थ आयोजित कार्यक्रममा तिहारको शुभकामना आदानप्रदान

प्रधानमन्त्रीद्वारा किमाथांका नाका र अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन

प्रधानमन्त्रीको स्वागतका लागि च्याम्ताङमा भेला भएका स्थानीय ।

भाैगाेलिक कारणले हेलिकप्टर अवतरण हुन नसक्दा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि उनको स्वागतमा आयोजित भोटखोला- २, च्याम्ताङको कार्यक्रममा सहभागीहरूले तिहारको शुभकामना आदानप्रदान गरेका छन् ।

प्रधानमन्त्री नआएपछि स्वागत कार्यक्रमलाई शुभकामना आदानप्रदान कार्यक्रमका रूपमा बदल्नु परेको भोटखोला- २ का अध्यक्ष छिरिङछेदर भोटेले बताए । ‘मञ्च बनाएरै कार्यक्रमको तयारी गरिएको थियो । स्थानीय नेता, समाजसेवीदेखि ठुलो संख्यामा सर्वसाधारणहरू पनि उपस्थित भइसकेका थिए,’ अध्यक्ष भोटेले भने, ‘हेलि बस्न नसकेको खबर पाएपछि शुभकामना आदानप्रदान गरेर छुट्टियाैं ।’ किमाथांका नाकाको कार्यक्रमपछि प्रधानमन्त्री ओली निर्माणाधीन उत्तर-दक्षिण (कोशी) सडकको अनुगमनका लागि च्याम्ताङमा अवतरण हुने कार्यक्रम थियो ।

त्यसअघि प्रधानमन्त्री ओलीले चीनसँग जोडिएको किमाथांका पुगेर त्यहाँको सीमा सुरक्षा अवस्थाको निरीक्षण तथा किमाथांका भएर हुनसक्ने अन्तरदेशीय व्यापारको सम्भाव्यताबारे पनि जानकारी लिएका थिए । यसका साथै उनले सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी)को किमाथांकामा निर्माणाधीन भवनको समेत अवलोकन गरे ।

काठमाडौं फर्कनुअघि प्रधानमन्त्री ओलीले मकालु गाउँपालिका- ५, फ्याक्सिन्दामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गरे । प्रधानमन्त्री ओलीलाई आयोजना प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराए । सो आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

२०७२ सालको भारतीय नाकाबन्दीताका नेपाल सरकारले किमाथांका सहितका चीनसँगको नाका खुलाउने निर्णय गरेको थियो । त्यसयता चर्चामा रहेको किमाथांकामा बहालवाला प्रधानमन्त्रीको भ्रमणपछि बाँकी कामले तीव्रता पाउने अपेक्षासहित स्थानीय स्तरमा उत्साह थपिएको छ ।

(तस्बिरहरू : टी छिरिङ थिकेपाको फेसबुकबाट)

 

प्रकाशित समय १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु