गृहपृष्ठ किसानलाई पैसा नतिर्ने उखु मिल सञ्चालकविरुद्ध ठगी मुद्दा
किसानलाई पैसा नतिर्ने उखु मिल सञ्चालकविरुद्ध ठगी मुद्दा
पैसा माग गर्दै आन्दोलनरत किसान ।
किसानलाई उखुको पैसा नतिर्ने मिल सञ्चालकविरुद्ध मुद्दा दायर भएको छ । पीडित किसानले श्रीराम सुगर मिल, अन्नपूर्ण सुगर मिल, इन्दिरा सुगर एन्ट एग्रो तथा लुम्बिनी चिनी मिल सञ्चालकविरुद्ध मुद्दा दायर गरेका हुन् ।
उखुको पैसा भुक्तानी नगनेर् उद्योग सञ्चालकविरुद्ध बुधबार ठगी मुद्दा परेको नेपाल प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए । ‘सम्बन्धित जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ, हामी आरोपित उद्योगीको खोजीमा छौँ,’ उनले भने, ‘तत्काल पक्राउ गरेर कानुनअनुसार कारबाही अघि बढाउँछौँ ।’ सरकारबाट स्पष्ट निर्देशन आएको र पीडित किसानले दर्ता गरेको उजुरीका आधारमा पक्राउ पुर्जी जारी भइसकेकाले कारबाही प्रक्रिया अघि बढाउन समस्या नरहेको उनले स्पष्ट पारे ।
यसअघि, गृह मन्त्रालयले उखु किसानको भुक्तानी समयमै नतिर्ने चिनी मिल सञ्चालकषहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो । उद्योगले वर्षौंदेखि उखुको पैसा नदिएको भन्दै यतिबेला काठमाडौंमा आएर किसानहरूले आन्दोलन गरिरहेका छन् । उनीहरूले पैसा नपाएसम्म घर नजाने बताएका छन् ।
अन्नपूर्ण तथा इन्दिरा उखु मिलका सञ्चालक राकेश अग्रवाल हुन् । श्रीरामका सञ्चालक हितेश गोल्छा, विशाल अग्रवाल र पदमकान्त झा हुन् भने त्यस्तै लुम्बिनीका सञ्चालक श्रेय अग्रवाल हुन् । गत वर्ष पनि किसानको पैसा नतिरको आरोपमा प्रहरीले राकेश अग्रवाल पक्राउ गरेको थियो । मिल सञ्चालकहरूले किसानको ९० करोड रुपैयाँ तिर्न बाँकी छ ।
प्रकाशित समय १३:३७ बजे

















