गृहपृष्ठ सिरहामा चिसोका कारण चार जनाको मृत्यु

सिरहामा चिसोका कारण चार जनाको मृत्यु

केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ । चिसोका कारण बरियारपट्टी गाउँपालिका ५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका ११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका ३ बन्दीपुर निवासी ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल्न नसकेका एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मंसिर २२ देखि २८ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । सो अवधिमा चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर अन्य पाँच जना घाइते भई विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए ।

यसैबीच चिसो प्रभावित सुखीपुर नगरपालिका ८ र गोलबजार नगरपालिका १३ का १५० परिवारलाई स्वदेश लघुवित्त संस्था सुखीपुरले न्यानो कपडा वितरण गरेको छ । सुखीपुर नगरपालिका ८ अस्पताल चोकका १३० र गोलबजार नगरपालिका १३ का २० परिवारलाई चिसोबाट जोगिन न्यानो कपडा वितरण गरिएको हो ।

प्रकाशित समय १२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु