गृहपृष्ठ नयाँ वर्षको स्वागत गर्ने शैली फरक, उल्लास उस्तै (तस्बिरहरु)
नयाँ वर्षको स्वागत गर्ने शैली फरक, उल्लास उस्तै (तस्बिरहरु)
शुक्रबारदेखि अग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु भएको छ । नेपाललगायत विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ नयाँ वर्ष उल्लासका साथ मनाइएको छ । कोरोनाभाइरस (कोभिड- १९)को महामारीकै बिच मानिसहरु २०२० साललाई विदाई र २०२१ को स्वागतमा उत्साहित देखिए । जापानमा ठूूलो भीडका साथ मानिसहरु टोकियो चिगासकीको दक्षिणी समुन्द्री तटमा गई बिहानी सूर्योदयको अवलोकन गर्दै नयाँ वर्ष मनाएका छन् ।
गत डिसेम्बर ३१ तारिखमा विश्वमै पहिलोपटक कोरोनाभाइरस देखिएको चीनको वुहान सहरमा नयाँ वर्ष मनाउन मुखमा फेसमास्क लगाएर मानिसहरु बाहिर निस्किएका थिए । युक्रेनमा बिहीबार मानिसहरुले कोरोनाभाइरसको महामारीको बाबजुद पनि निर्धक्क भई झिलिमिली प्रकाशमा सजिएको क्रिसमस ट्रीमुनि बसेर नयाँ वर्ष मनाएका छन् । असंख्य मानिसहरु स्वास्थ्य सुरक्षाको ख्यालै नगरी हर्ष, उल्लासका साथ नयाँ वर्षमा रमाए । संयुक्त अरब इमिरेट्स (दुबई)स्थित विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा पनि मानिसहरुले नयाँ वर्ष मनाएका छन् । विविध साजसज्जाले झकिझकाउ पारिएको बुर्ज खलिफामा हजारौं मानिस नयाँ वर्षको स्वागतमा झुमेका थिए ।
जर्मनीमा नयाँ वर्षको उत्सव मनाउनका लागि भनेर महोत्सवका आयोजकहरुल शक्तिशाली स्पटलाइटहरु सजाएका थिए । उत्तर कोरियाको राजधानी प्योङयाङमा हजारौंको संख्यामा मानिसहरु भेला भएर राष्ट्रिय झण्डा प्रर्दशन गर्दै नयाँ वर्ष मनाए । मलेसियाको राजधानी क्वालालम्पुरस्थित पेट्रोन्स ट्वीन टावरनजिक जनवरी २०२० लेखिएको पर्दा प्रर्दशनमा राखिएको थियो । यसरी कतै सूर्योदय हेरेर त कतै समुन्द्र तटमा पुगेर, कतै झिलीमिली बत्ती त कतै आतिसबाजी गरे विश्वभर नयाँ वर्षको स्वागत गरियो । नयाँ वर्षको स्वागत गर्ने शैली फरक-फरक भए पनि उल्लास भने उस्तै रह्यो ।














(तस्बिरहरू : एपी, एएफपी र सिन्ह्वा)
प्रकाशित समय १८:०४ बजे

















