गृहपृष्ठ अपांगता भएकाहरू कमजोरी छिचोल्दै, अघि बढ्दै

अपांगता भएकाहरू कमजोरी छिचोल्दै, अघि बढ्दै

सांकेतिक

कैलालीको टीकापुर ८ सत्तीका अनिष चौधरी दृष्टिविहीन हुन् । उनी कर्णाली मावि टीकापुर ७ सत्तीमा कक्षा १० मा अध्ययनरत छन् । अनिषले आफ्नो कमजोरीलाई शक्तिमा बदल्दै उज्यालो शिक्षा आर्जन गरिरहेका छन् ।

अनिष पढाइसँगसँगै विद्यालयमा हुने खेलकुद तथा अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सहभागी हुन्छन् । घरबाट आफैँ हिँडेर विद्यालय पुग्ने अनिषको उत्साह र पढाइमा लगाव देखेर उनका साथीभाइ, आफन्त र शिक्षक पनि दंग छन् ।

अनिषले जुन काममा हात हाल्छन्, त्यहाँ सफलता पाउँछन् । अनिषका कक्षाका साथी सुजित चौधरी उनी आफूहरुभन्दा पढाइमा राम्रो रहेको बताउँछन् । ‘अनिष धेरै मेहनती छन् । लगन भए पढ्न, काम गर्न सकिन्छ भन्ने उनी प्रमाण हुन्,’ सुजित भन्छन्, ‘उनीमा हामीभन्दा बढी बुझ्ने क्षमता छ । हरेक कुरालाई हामीभन्दा बढी लगाव दिएर पूरा गर्छन् ।’

दृष्टिविहीन अनिष गीत, कविता गाउने र लेख्ने काम पनि गर्छन् । आफूले लेखेको कविता, गीत कक्षामा सबैलाई सुनाउँछन् । अन्य विद्यार्थीसँगै बसेर पढ्ने अनिषलाई कक्षाकोठामा पढ्न अलि अप्ठ्यारो हुन्छ । ‘कहिलेकाहीँ सेतो बोर्डमा लेखेको कुरा सार्न गाह्रो हुन्छ । कुनै‑कुनै सरले लेखेको कुरा भन्दिनुहुन्न,’ उनी भन्छन्, ‘त्यस्तो बेला अलि गाह्रो हुन्छ । ब्रेललिपिमा चित्र बनाउन, गणित, विज्ञान र जनंख्याको हिसाब गर्न गाह्रो हुन्छ । साथीहरु निकै सहयोगी छन्, त्यस्तो समयमा साथीहरुले सघाउँछन् ।’

विद्यालयले अनिषजस्ता विद्यार्थीलाई अध्ययनमा सहज होस् भनी अपांगतामैत्री भौतिक संरचना निर्माण गरेको छ । ‘उनी असल विद्यार्थी हुन् । उनी नियमित विद्यालय आउने, विद्यालयका हरेक अतिरिक्त क्रियाकलापमा सहभागी हुने गर्छन्,’ विद्यालयका सहायक प्रधानाध्यापक वीरेन्द्र शाह भन्छन्, ‘हाम्रो विद्यालयमा स्रोत शिक्षक प्रेमबहादुर चौधरी पनि हुनुहुन्छ । उहाँले अपांगता भएकाहरुका समस्या समाधानमा सघाउनुका साथै उनीहरुको शैक्षिक विकासमा योगदान दिइरहनुभएको छ ।’

कर्णाली माविमा अपांगता भएका ११ दृष्टिविहीन बालबालिका अध्ययनरत छन् । विद्यालयमा उनीहरुका लागि आवासीयसहितको सबै सुविधा छ । ‘खान बस्न, सबै आवश्यक कुरा यहीँ व्यवस्था गरिएको छ,’ स्रोत शिक्षक चौधरीले भने, ‘दृष्टिविहीन बालबालिकालाई सुरु‑सुरुमा घुलमिल हुन अप्ठ्यारो हुन्छ । हामीले अरु विद्यार्थीलाई मित्रवत् व्यवहार गर्न भनेका छौँ । सबै विद्यार्थी एउटै कक्षामा राखेर पढाउनुपर्ने भएकाले दृष्टिविहीनलाई शुरुको बेञ्चमा राख्छौँ ।’

शिक्षक चौधरीले पनि ब्रेललिपिको तालिम लिएका छन् । दृष्टिविहीन विद्यार्थीका लागि सरकारले वार्षिक प्रतिविद्यार्थी ४० हजार रुपैयाँ छात्रवृत्ति विद्यालयलाई उपलब्ध गराउने गरेको छ । यसका साथै स्रोत कक्षा व्यवस्थापनका लागि वार्षिक १० हजार र खेलकुद, स्टेसनरीका लागि पनि रकम उपलब्ध गराउने गरेको छ । यसका साथै विभिन्न संघसंस्थाको सहयोग बालबालिकाले पाउने गरेका छन् ।

जन्मजात दृष्टि गुमाएका अनिषकी आमा सुनिता चौधरीले जन्मेको ६ दिनदेखि नै उनको दृष्टि जोगाउन अनेकन् प्रयास गरेकी हुन् । ‘६ दिनदेखि औषधि खुवाउन थालेकी हुँ तर उनको आँखाको ज्योति फर्काउन सकिएन । मलाई सानो छँदा निकै चिन्ता लाग्थ्यो । आँखाको ज्योति नभए पनि शिक्षाको ज्योति देखुन् भन्ने सपना थियो,’ सुनिताले भनिन्, ‘अहिलेसम्म राम्रो पढेको छ । अगाडि पनि राम्रै गर्ला । हामीले उसलाई हामीप्रति निर्भर बनाएका छैनौँ । सकेको सहयोग गर्छौँ तर आफ्नो काम आफैँ गर्ने बनाएका छौँ ।’

नेत्रहीन संघ सुदूरपश्चिमका अध्यक्ष अर्जुन रावल अपांगता भएकाहरुका सबै काम आफैँले गरिदिएर परिवारले कमजोर बनाउन नहुने बताउँछन्, ‘उनीहरुलाई बाटो देखाउने, यसरी गर भनी सिकाउने हो तर अरुप्रति निर्भर बनाउने होइन,’ उनी भन्छन्, ‘परिवार आजीवन उनीहरुसँगै रहँदैन । सहयोग गरेर कतै मैले कमजोर बनाइरहेको छु कि भनी परिवारले खोजी गर्नुपर्छ । उनीहरुलाई आफ्ना कामका लागि आफैँ तयार गरिदिने हो ।’

अध्यक्ष रावल अपांगता भएकाहरु आत्मनिर्भर बनाउने खालको वातावरण तयार गर्ने जिम्मा सबैको भएकाले उनीहरुको शिक्षा, सीप विकासमा सहयोगी बन्न आवश्यक रहेको बताउँछन् । ‘सहयोगका नाममा परनिर्भर बनाउने होइन,’ उनी भन्छन्, ‘बरु जानुपर्ने ठाउँसम्म पु‑याइदिने, आवश्यक सामग्री किनिदिने, हौसला दिने काम गरौँ । क्षमता सबैमा हुन्छ, क्षमतालाई प्रयोग गर्ने वातावरण तयार गरिदिने हो ।’ (रासस)

प्रकाशित समय ०९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु