गृहपृष्ठ भाषणको शैली र सार उस्तै, सरकारको जिम्मेवारीका कुराभन्दा ‘गाली’ र ‘गफ’ बढी
भाषणको शैली र सार उस्तै, सरकारको जिम्मेवारीका कुराभन्दा ‘गाली’ र ‘गफ’ बढी
प्रतिनिधिसभा विघटन तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक शुक्रबार उपत्यका बाहिरको कार्यक्रमलाई सम्बोधन गरे । नेकपा सुदूरपश्चिम ओली समूहद्वारा धनगढीमा आयोजित आमसभामा प्रधानमन्त्री ओली सहभागी भएका हुन् । सभामा ओलीले दाहाल-नेपाल समूहमाथि विभिन्न आरोप लगाए । साथै ओलीले नेता भिम रावलमाथि पनि व्यंग्य गरे । झण्डै आधा घण्टा भाषण गरेका ओलीले सुदूरपश्चिमको विकास निर्माणको समस्या र सम्भावनाका चर्चा गरे, कालापानी र लिपुलेकको कुरा पनि छुटाएनन् । मन्तव्यको बाँकी समय भने उनले दाहाल-नेपाल पक्षलाई ‘गाली’ र ‘गफ’ गर्नमै खर्चिए । उनको भाषणको शैली र सार यसअघिको भन्दा फरक थिएन । धनगढीमा पनि उनले यसअघि काठमाडौंमा भएको कार्यकर्ता भेलाकै शैलीमा उनले अभिव्यक्ति दिए ।
ओलीले नेकपा आफ्ना नातेदारको पार्टी नभएको बताए । ‘छोरीबुहारी, सम्धी, साला-सालीको पार्टी होइन,’ ओली कार्यकर्ताहरुलाई भने, ‘पार्टी छाडेर भागेका भगौडाहरुको कुरा नसुन्नस् ।’ उनले ‘सुखी नेपाली समृद्ध नेपाल’को अभियानमा आफू लागेको दाबी गरे । ‘तपाईंहरुले यहाँ गाली गर्दै हिँडेका, पार्टी छाडेर भागेका भगौडाहरुका कुरा सुन्नु भएको होला । तर तपाईंहरु प्रभावित भइरहनुपर्ने आवश्यकता छैन,’ उनले भने । सभालाई सम्बोधन गर्दै उनले आउने निर्वाचनमा १० सिट ल्याएर देखाउन दाहाल-नेपाल पक्षलाई चुनौती दिए ।
ओलीले प्रतिनिधिसभा कुनै हालतमा पुनःस्थापना नहुने बताए । ‘म ६४ प्रतिशत मतसहितको प्रधानमन्त्री हो । बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ । अर्को विकल्प नै छैन,’ उनले भने, ‘अब प्रतिनिधिसभा चुनावबाटै आउँछ । पुनःस्थापना हुन सक्दैन ।’ वैशाखमै चुनाव हुने पनि ओलीको जिकिर थियो । ‘चुनाव वैशाख १७ गते र २७ गते नै हुन्छ । तपाईंहरु भोट हाल्न तयार हुनुहोस् । माथि गएर बदमासी र भ्रष्टाचार गर्नेहरुलाई तपाईंहरुले गाउँमै ठेगान लगाउनु होला । नत्र माथि दुःख दिन्छन्,’ ओलीले भने । पार्टीको बैठकमा नआएर बाहिर-बाहिर बसेर प्रचण्ड र माधव नेपालले सरकारको र पार्टी अध्यक्षको विरोध गरिरहेको ओलीको भनाइ थियो ।
पार्टी उपाध्यक्ष भीम रावल समेतले वैज्ञानिक वन बनाएर वन सखाप पार्ने योजना फेल भएपछि आफ्नो विरोध गरिरहेको ओलीले आरोप लगाए । ओलीले भने, ‘वैज्ञानिक वन व्यवस्थापनका नाममा सिद्ध्याउने उहाँको योजना अलपत्र पर्यो । त्यही भएर उहाँ दुखी हुनुन्छ ।’
अध्यक्ष ओलीले प्रचण्ड-नेपाल समूहले पार्टी छाडेर गएको भन्दै दुई-चार जना नेताले पार्टी छोड्दैमा आफ्नो उद्देश्य कमजोर नहुने बताए । ‘केहीले सोचेका होलान्, हामी हटेपछि अब पार्टी कसरी चल्छ भनेर । दुई-चार जना मान्छे पिलो निचोरिएजसरी निचोरिँदैमा देशका जनतालाई सुखी र समृद्ध बनाउने उद्देश्य कमजोर हुँदैन । नुहाउँदा पनि दुई चारवटा डल्ला साबुन खर्च भएर गयो । अरु के हुन्छ ? ०५४ सालमा पनि चोइटिएर जानेहरू थिए,’ प्रचण्ड-नेपाल पक्षप्रति लक्षित गर्दै ओलीले कटाक्ष गरे ।
भारतले हडपेको जमिन नेपालको नक्सामा सामेल गर्दा केही नेतालाई टाउको दुखेको पनि ओलीले आरोप लगाए । ‘भारतसँगको हाम्रो सम्बन्ध अझै पनि राम्रो छ । हाम्रो अधिकार सुरक्षित राख्दा सम्बन्ध बिग्रँदैन,’ उनले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भूमि हो । ५८ वर्षदेखि हडपिएको थियो । त्यसलाई सामेल गरी संविधान संशोधन गरेका थियौँ । संसदमा एकमत थियो । नेपालको भूभाग सामेल गर्दा यही प्रदेशका मान्छेलाई टाउको दुख्यो ।’
ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको समूहलाई ‘भगौडा’को संज्ञा दिए । भने, ‘तपाईहरूले केही भगौडाहरुको कुरा सुन्नु भएको होला । उहाँहरु केन्द्रीय कमिटीको बैठकमा नआएर सडकमा गए । गाली गरेर, पत्रपत्रिकामा लेखाएर ‘हामी यता छौँ’ भनेका छन् । उहाँहरूका समर्थकहरू गालीगलौज गरेर हिँडेका छन् । हामीलाई गाली गर्ने फुर्सद छैन । हामी दन्तबजान गर्दैनौं ।’
सभालाई नेकपा स्थायाी समिति सदस्य तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना, वन तथा वातावरणमन्त्री प्रेम आले, श्रममन्त्री गौरीशंकर चौधरी लगायतका नेताले सम्बोधन गरेका थिए ।
प्रकाशित समय १९:०० बजे

















