गृहपृष्ठ बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नुपरेको हो : प्रधानमन्त्री ओली
बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नुपरेको हो : प्रधानमन्त्री ओली
'नयाँ जनादेश ल्याएर देशलाई अगाडि बढाउनुपर्छ भनेर निर्वाचनको घोषणा गरेको हुँ'
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जनताको पक्षमा काम गर्न पार्टीभित्रैबाट असहयोग गरिएकाले आफूले बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नुपरेको प्रष्टीकरण दिएका छन् ।
युवा संघ नेपालले आज यहाँ आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्रैबाट संविधान कार्यान्वयन हुन नदिने, लोकतान्त्रिक संस्थालाई निकम्मा पार्ने र संवैधानिक निकायमा रिक्त पदपूर्ति गर्न नदिएर बखेडा झिकिएको बताए । ‘सरकारलाई काम गर्न नदिने, कानून बनाउन नदिने, कानून संसदमा राख्यो पेश हुनै नदिने र संसदीय समितिले सरकारलाई अप्ठ्यारो पार्ने काम भयो । जुन गतिका साथ अगाडि बढ्नुपर्ने थियो त्यो गतिका साथ अगाडि बढ्ने काम नभएपछि चुनावमा गएर नयाँ जनादेश ल्याएर देशलाई अगाडि बढाउनुपर्छ भनेर मैले निर्वाचनको घोषणा गरेको हुँ,’ उनले भने । प्रधानमन्त्रीले ताजा जनादेशका लागि भनेर आफूले निर्वाचनको घोषणा गर्दा पार्टीभित्र र बाहिरका व्यक्ति अत्तालिएको बताए । आफूले जनअपेक्षाअनुसार काम गर्दा पार्टीभित्रका केही नेता आत्तिएर आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागिपरेको उनले उल्लेख गरे ।
जननिर्वाचित सरकारले गरेको प्रतिनिधिसभा विघटनको घोषणालाई असंवैधानिक भनेर केही व्यक्तिले अभिव्यक्ति दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको जिम्मेवारीमा बसेको व्यक्तिले अदालतलाई धम्क्याउने क्रियाकलाप गर्न नहुने बताए । उनले भने, ‘म उहाँहरुलाई भन्न चाहन्छु, उनीहरुजस्तो सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न सुहाउँदैन ।’ प्रधानमन्त्री ओलीले सम्मानित न्यायापालिकाको कदर गर्न सिक्न पनि आग्रह गरे ।
जनताका बीचमा जाने कुरा लोकतन्त्रविरोधी नहुने प्रष्ट पार्दै उनले जनताका बीचमा जान डराउनेचाहिँ लोकतन्त्रविरोधी भएको टिप्पणी गरे । ‘हामी लोकतन्त्रवादी हौँ, जनताका बीचमा जाने निर्णय गरेका छौँ, ताजा जनादेशमा जाने पक्षमा छौँ, संविधानको कार्यान्वयन गर्ने र लोकतन्त्रको विकासमा जाने कुरा गरेका छौँ,’ प्रधानमन्त्री ओलीले भने ।
निर्वाचन तोकिएको मितिमै हुने ठोकुवा गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन हुन्छ कि हुँदैन भनेर भ्रममा नपर्न सबैलाई आग्रह गरे । ‘सम्पूर्ण दाजुभाइ, देशवासी कोही पनि भ्रम र अन्योलमा पर्नु आवश्यक छैन,’ उनले भने, ‘सरकारले कुनै तानाशाही व्यवस्था ल्याउँदैन, निर्वाचनको मिति एक दिन पनि तलमाथि हुँदैन ।’ चुनावी वातावरणको आँधीबेहरी सिर्जना गर्न नेता, कार्यकर्तालाई आग्रह गर्दै उनले देश र जनताको पक्षमा काम नगर्ने तत्वलाई निर्वाचनबाटै पाखा लगाउनुपर्ने बताए ।
प्रकाशित समय १८:५१ बजे

















