गृहपृष्ठ माघे संक्रान्तिमा तीन लाख भक्तजनले देवघाटमा गरे स्नान
माघे संक्रान्तिमा तीन लाख भक्तजनले देवघाटमा गरे स्नान
माघे संक्रान्ति पर्वको अवसरमा तीन लाखभन्दा बढी भक्तजनले पवित्र धार्मिक तीर्थस्थल देवघाटस्थित त्रिशूली र कालीगण्डकीको संगम वेणीमा स्नान गरेका छन् । स्नान गर्नका लागि भक्तजन बुधबारदेखि नै देवघाटधाम पुगेका थिए ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरेनबाबु घिमिरेले यस वर्ष तीन लाखभन्दा बढी भक्तजनले संगममा स्नान गरेको जानकारी दिए । कोभिडको जोखिमका कारण यस वर्ष क्षेत्र विकास समितिले औपचारिक कार्यक्रमको आयोजना गरेको थिएन । यद्यपि भक्तजनहरु स्वस्फूर्त देवघाटमा स्नान गर्न आएको कार्यकारी निर्देशक घिमिरेले बताए ।
देवघाट क्षेत्र विकास समितिले औपचारिक रूपमा मेलाको आयोजना नगरे पनि व्यवस्थित रूपमा स्नान गर्ने व्यवस्था भने मिलाएको थियो । उनका अनुसार विभिन्न उपसमितिहरु गठन गरी मेलालाई व्यवस्थित बनाइएको थियो ।
तनहुँको देवघाट गाउँपालिका ५ स्थित त्रिशूली नदी र कालीगण्डकी नदीको संगम वेणीमा बुधबार बिहान बाँसको लिङ्गो गाडेर माघे संक्रान्ति मेलाको आरम्भ गरिएको थियो । नदीमा स्नान गर्न र मेला भर्न आउनेहरुलाई वारपार गर्न त्रिशूली नदीमा २५ वटा ठूला डुंगाको व्यवस्था मिलाइएको थियो ।
नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल रेडक्रसका उद्धारकर्ता एवं स्थानीय बोटे समुदायलाई परिचालन गरिएको थियो । सशस्त्र प्रहरी र बोटेहरुले डुंगामार्फत नदीमा यात्रा गरेर स्नान गर्ने भक्तजनको सुरक्षा गर्ने र दुर्घटना भएमा आपतकालीन उद्धारको तयारी गरेका थिए ।
हजारौँ सवारी साधनको ओहोरदोहोर हुने भएको हुँदा देवघाट जाने सवारी साधनलाई चितवनको रामनगर, ठिमुरा र दासढुंगाबाट जाने र फर्कंदा आँपटारी हुँदै आउने व्यवस्था मिलाइएको कार्यकारी निर्देशक घिमिरेले बताए । मुग्लिङ–नारायणगढ सडकखण्डको दासढुंगामा पक्की पुल निर्माण भइसकेको हुँदा अधिकांश भक्तजनहरु दासढुंगा हुँदै देवघाट गएका थिए ।
माघे संक्रान्तिमा देवघाटमा हुने मेला नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध मानिन्छ । विगत वर्षहरुमा माघे संक्रान्तिको दिनमात्रै पाँच लाखभन्दा बढी भक्तजनले मेलाको अवलोकन गर्ने र वेणी संगममा स्नान गर्थे । गोसाइँकुण्डबाट बगेको त्रिशूली र दामोदरकुण्डबाट बगेको कालीगण्डकीको संगम देवघाटको वेणीमा स्नान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । यसैले माघे संक्रान्तिमा स्नान गर्न भारत तथा नेपालका विभिन्न जिल्लाबाट लाखौँ भक्तजन देवघाट आउने गर्छन् ।
पर्यटकीय गन्तव्य प्रवर्धन गर्न पदयात्रा
तनहुँको भीमाद नगरपालिका ९ मा रहेका पर्यटकीय गन्तव्यहरुको प्रवर्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले बिहीबार पदयात्रा गरिएको छ । कोभिड–१९ को प्रभावले रोकिएका पर्यटकीय गतिविधिलाई अगाडि बढाउने उद्देश्यले पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिले पदयात्रा सम्पन्न गरेको हो ।
भीमाद ६ स्थित भीमाद बजारबाट सुरु पदयात्रा पाथर्दीमा पुगेर टुंगिएको थियो । पदयात्राको उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पर्यटनलाई आर्थिक उपार्जनको माध्यम बनाउनुपर्नेमा जोड दिए । उनले पर्यटनबाटै समृद्धि सम्भव रहेकाले प्रदेश सरकारले पनि पर्यटन प्रवर्धनका लागि कार्यक्रम बनाएको बताए ।
कोभिड–१९ को प्रभावका कारण रोकिएका पर्यटन गतिविधि पुनः सञ्चालन गर्न पदयात्राको आयोजना गरिएको घरबास व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले जानकारी दिए । पदयात्रामा १५० भन्दा बढीको सहभागिता थियो ।
‘कोभिडले पर्यटनका सबै गतिविधि रोकिए, अब विस्तारै पर्यटनका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले वडामा भएका पर्यटकीय गन्तव्यको प्रचारका लागि पदयात्रा गरेका हौँ,’ उनेले भने । पदयात्राका क्रममा सोही वडामा रहेको सिद्धगुफाको पनि भ्रमण गरिएको छ । एक सय नयाँ पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गुफामा विभिन्न पूर्वाधार निर्माण गरिएको छ । कोभिड–१९ कै समयमा गुफा क्षेत्रमा शौचालय, प्रतीक्षालय र रेलिङ निर्माण गरिएको छ । पूर्वाधार निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु २५ लाख उपलब्ध गराएको थियो ।
पदयात्रामा पुग्ने पदयात्रीलाई सोही ठाउँमा रहेको पाथर्दी सामुदायिक घरबासमा बास बस्ने व्यवस्था मिलाइएको छ । पाथर्दी गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री नमुना वातावरणमैत्री कृषि गाउँ हो । (रासस)
प्रकाशित समय ०६:४१ बजे

















