गृहपृष्ठ इतिहासकै ठूलो आईपीओ आजदेखि, २ करोड कित्तासम्म भर्न पाइने
इतिहासकै ठूलो आईपीओ आजदेखि, २ करोड कित्तासम्म भर्न पाइने
नेपाल इन्फ्रास्टक्चर बैँकले आजदेखि सर्वसाधारण सेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ । बैँकले ८ अर्ब रुपैयाँ रुपैयाँबराबरको आईपीओ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँदरको ८ करोड कित्ता सेयर निष्कासन गर्नेछ, जसको ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फन्डहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले ७ करोड ५८ लाख ४० हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिनेछ । इच्छुक सर्वसाधारणले छिटोमा माघ ६ गतेसम्म आवेदन दिन पाउनेछन् । निष्कासन गरिएको सबै सेयरका लागि आवेदन नपरेमा समय थप हुनेछ । नेपाल इन्फ्रास्ट्रक्चर बैँकको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल हो ।
धितोपत्र बोर्डबाट पुस १० गते स्वीकृतिप्राप्त यो निष्कासन हालसम्मकै ठूलो हो । यसअघि नेपालको पुँजीबजारमा कुनै पनि कम्पनीले यति ठूलो आकारको सेयर जारी नगरेको बोर्डले जनाएको छ ।
कम्पनीको सेयरलाई इक्रा नेपालले ट्रिपल बी ग्रेडिङ प्रदान गरेको छ । यो क्रेडिट रेटिङ प्राप्त संस्थालाई समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम श्रेणीको सुरक्षा प्रदान गर्ने संस्था मानिन्छ ।
प्रकाशित समय ०६:५९ बजे

















