गृहपृष्ठ सभामुखले संवैधानिक परिषद्को सिफारिस फिर्ता गरेकोप्रति राष्ट्रियसभा अध्यक्षको असहमति
सभामुखले संवैधानिक परिषद्को सिफारिस फिर्ता गरेकोप्रति राष्ट्रियसभा अध्यक्षको असहमति
फाइल तस्बिर
संवैधानिक परिषद्को निर्णय फिर्ता पठाउने सभामुख अग्नि सापकोटाको कदमप्रति राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असहमति जनाएका छन् । सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी उनले संवैधानिक परिषद्को निर्णय फिर्ता पठाउने विषयमा सभामुख सापकोटाले आफूसँग कुनै पनि छलफल नगरेको बताए ।
सभामुख सापकोटाले पत्रमा उल्लेख गरेको ‘संघीय संसद तथा सोअन्तर्गतका समितिको व्यवस्थापन, सञ्चालनसमेतको व्यवस्था गर्ने अधिकार प्रतिनिधिसभाका सभामुखमा निहित भएको’ भन्ने व्यहोराले दुई सदनात्मक संघीय व्यवस्थापिकासम्बन्धी संवैधानिक व्यवस्था, स्थापित अभ्यास, राष्ट्रियसभाको भूमिका र गरिमामा प्रहार भएको उनले बताए । ‘दुवै सदनको प्रतिनिधित्व रहने संसदीय सुनुवाइ समितिका संयुक्त समितिहरू सञ्चालनको अधिकार संघीय संसदको कुनै एक सदन वा पदाधिकारीमा निहित रहेको छैन,’ अध्यक्ष तिमिल्सिनाले भने ।
अधिकारप्राप्त निकायबाट आएका कुनै पनि कागजात संघीय संसदको दुवै सदनको सम्पत्ति हुने पनि उनले उल्लेख गरे । संसदीय सुनुवाइसम्बन्धी पत्र फिर्तासम्बन्धी गलत प्रक्रियामा संघीय संसदको माथिल्लो सदन संलग्नता नरहेको अध्यक्ष तिमिल्सिनाले जानकारी गराए ।
प्रकाशित समय १६:२९ बजे

















