गृहपृष्ठ ‘फुटवेयर बिजनेस एक्स्पो’मा २० कम्पनीका स्टल रहने
‘फुटवेयर बिजनेस एक्स्पो’मा २० कम्पनीका स्टल रहने

‘फुटवेयर बिजनेस एक्स्पो’ मंगलबारदेखि भृकुटीमण्डपमा सुरु हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको उक्त प्रदर्शनी २१ दिनसम्म सञ्चालन हुने जानकारी दिएको छ ।
‘स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराकाका साथ सञ्चालन हुन लागेको मेलामा नेपालका चर्चित २० वटा कम्पनीका स्टलहरु रहनेछन् । मेलामा उपभोक्ताहरुले भारी छुटका साथ गुणस्तरीय उत्पादनहरु प्राप्त गर्नसक्ने एशोसिएसनका अध्यक्ष कुष्ण कुमार फुयाँलले बताए । आम उपभोक्ताबीच कोरोना महामारीपछिको अवस्थामा सकारात्मक सन्देश पुर्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागेको उनको भनाइ छ । करिब ११ महिनादेखि कोरोना भाइरसको कारण हरेक क्षेत्र ठप्प भए पनि अब भने त्रासमा बस्नु उपयुक्त नभएको उनले बताए ।
विस्तारै सबै क्षेत्र नियमित रुपमा चलायमान बनाउँदै लैजानुपर्नेमा उनको जोड छ । ‘यस एक्स्पोको उद्देश्य पनि व्यापार व्यवसायलाई निरन्तरता दिनुपर्छ भनेर आयोजना गर्न लागिएको हो । स्वदेशी उत्पादनमा जोड दिँदै नेपाललाई अब आत्मनिर्भर बनाउनुपर्छ,’ उनले भने ।
स्वदेशी उत्पादनको प्रवद्र्धन र विकासका लागि हरेक वर्ष सञ्चालन हुँदै आएको औद्योगिक प्रदर्शनी गत वर्ष कोभिडका कारण गर्न नसकेको एक्सपोका संयोजक तथा पूर्वअध्यक्ष होमनाथ उपाध्यायले बताए । अर्थतन्त्रलाई चलायमन बनाउन र व्यापारिक, व्यवसायिक क्रियाकलापलाई सहज बनाउँदै लैजान एक्स्पो आयोजना हुन लागेको उनले स्पष्ट पारे ।
उनका अनुसार विगतमा जस्तै भृकुटीमण्डपको सानो चौरमा अव्यवस्थित रुपमा सञ्चालित जुत्ता चप्पलका मेलाहरुले उपभोक्तामा भ्रम सिर्जना हुने तथा व्यापारीहरुका गुनासालाई समेत ध्यानमा राखेर सबै उद्योगीहरुको सहभागितामा वर्षको दुईपटकसम्म बिजनेस एक्स्पो र एकपटक राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गर्ने नीति एशोसिएसनले लिएको छ । साथै एशोसिएसनले प्रत्येक प्रदेशमा वर्षका एकपटक बिजनेस एक्सपो तथा औद्योगिक प्रदर्शनी आयोजना गर्ने पनि नीति रहेको छ । यो नीतिलाई पूर्ण रुपमा पालना गर्दै सक्रिय सहभागिताका लागि सम्पूर्ण उद्योगी व्यवसायीलाई एशोसिएसनले आग्रह गरेको छ ।
प्रकाशित समय १६:१२ बजे