गृहपृष्ठ भागरथी हत्या प्रकरण : घटनास्थलमा सीआईबीको टोली र तालिमप्राप्त कुकुर

भागरथी हत्या प्रकरण : घटनास्थलमा सीआईबीको टोली र तालिमप्राप्त कुकुर

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको अढाई वर्ष बितिसकेको छ । निर्मलाको न्यायकै लागि लड्दा एक जनाले ज्यान नै गुमाए । तर, अझैसम्म दोषी पत्ता लागेको छैन । निर्मलाको घटनालाई बिर्सन नसकेका सुदूरपश्चिममा फेरि त्यस्तै प्रकृतिको घटना घटेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका- ७ चडेपानी (कतोला)की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ । बुधबार विद्यालय गएकी भागरथी बिहीबार सडकनजिक मृत अवस्थामा भेटिएकी थिइन् । भागरथीको न्यायका लागि यहाँका विद्यार्थी र नागरिक सडकमा उत्रिएका छन् ।

भागरथी गाउँपालिका भवननजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् । बुधबार बिहान विद्यालय गएकी भागरथी नफर्केपछि आफन्तले खोजी गर्दा बिहीबार बेलुकी घरभन्दा तीन किलोमिटर दूरीमा रहेको लबलेक सामुदायिक वनमा विभत्स अवस्थामा उनको शव फेला परेको हो ।

प्रहरी चौकी खोचलेक र विद्यालयबाट झन्डै दुई किमि दूरीमा घाँटी निमोठिएको, हातमा धारिलो हतियार प्रयोग गरिएको र बलात्कार गरी आधा शरीर निर्वस्त्र पारिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले घटनास्थलको अवलोकन गर्दै किशोरीको बलात्कारपछि हत्या भएको अनुमान गरिएको जानकारी दिए । ‘फरेन्सिक टिम बोलाएका छौं । घटना मुचुल्का गरी शव जिल्ला अस्पताल लगिएको छ,’ प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै विस्तृतमा भन्न सकिन्छ ।’ किशोरीको बलात्कारपछि हत्यामा संलग्न दोषी चाँडै पत्ता लगाई कानुनी दायरामा ल्याइने प्रजिअ जोशीले बताए ।

प्रहरीले किशोरीको मोबाइल ब्याट्री झिकेर फालिएको अवस्थामा घटनास्थलमै फेला पारेको छ । मोबाइलका सूचना केलाउने कार्य पनि प्रहरीले गरिरहेको छ । प्रदेश सरकारका तर्फबाट संघीय प्रहरी कार्यालय धनगढीका एसएसपी मुकेश सिंह सहितको टोली घटनास्थलतर्फ गएको छ । धनगढीबाट तालिमप्राप्त कुकुर पनि घटनास्थल लगिएका छन् ।

खोचलेक-चडेपानी कच्ची सडकको लबलेक (स्थानीय भाषामा लडालेक)को बीच जंगलमा सडकभन्दा ५०-६० मिटर तल झाडीमा शव फेला परेको स्थानीय हरिश भट्टले बताए । ‘घरमा आमा एक्लै भएको भन्दै अभिभावकविहीन भएको मौका छोपेर बलात्कार गरेको हुनसक्छ,’ आफन्त भट्टले भने । भागरथीका बुवाको एक महिनाअघि धनगढीमा उपचारका क्रममा मृत्यु भएको थियो । उनका दाजु बुवाको काजक्रिया सकेर केही दिनअघि रोजगारीका लागि भारततिर लागेका थिए ।

उक्त क्षेत्रका प्रदेशसभा सदस्य लीलाधर भट्टले घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरे । प्रदेशसभा सदस्य भट्ट घटनास्थलमा पुगेर मृतककी आमालाई भेटी अपराधीलाई कानुनी दायरामा ल्याएर भागरथीलाई न्याय दिलाउने आश्वासन दिएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीले बैतडीमा भएको किशोरीको हत्या घटनालाई गम्भीरता साथ लिएको बताए । घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय कैलालीबाट एसएसपी जनकराज पाण्डेको नेतृत्वमा सीआईबी सहितको अनुसन्धान टोली शुक्रबार नै बैतडी पठाएको डीआईजी सुवेदीले बताए । ‘तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थल पुगिसकेको छ । सीआईबी र टेक्निकल अनुसन्धान टोली पनि बैतडी पठाएको छु,’ एसएसपी सुवेदीले भने, ‘घटनामा टेक्निकल अनुसन्धान सुरु भइसकेको छ ।’

न्यायका लागि आन्दोलन

सनातन धर्म माविका विद्यार्थीले शुक्रबार घटनामा संलग्न अपराधीलाई अविलम्व पत्ता लगाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले इलाका प्रहरी कार्यालयनजिकै रहेको खोचलेक बजारमा प्रदर्शन गरेका हुन् । उनीहरूले कुनै पनि बहानामा घटनामा संलग्नलाई खोज्न लापर्बाही नगर्न चेतावनी दिएका छन् । उनीहरुले केहीबेर महाकाली राजमार्गसमेत अवरुद्ध गराए ।

विभिन्न विद्यार्थी संगठनहरुले अपराधीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने भन्दै विज्ञप्ति निकालेका छन् । उनीहरुले धनगढीलगायत सुदूरपश्चिमका विभिन्न स्थानमा प्रर्दशन गरिरहेका छन् । यसका साथै महिला तथा युवाहरुका विभिन्न संघसंस्था पनि घटनाको विरोध गर्दै सडकमा उत्रिएका छन् । जघन्य अपराधहरु दिनप्रतिदिन बढिरहेकाले यसतर्फ सरकार गम्भीर बन्नुपर्ने उनीहरुको माग छ । यस्ता घटनाहरु नियन्त्रण गर्न नसकेको भन्दै प्रदर्शनमा सहभागीहरुले सरकारको आलोचना गरेका छन् ।

प्रकाशित समय १८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु