गृहपृष्ठ परिवर्तनलाई संस्थागत गर्न सक्नुपर्छ : नेता डा. महत
परिवर्तनलाई संस्थागत गर्न सक्नुपर्छ : नेता डा. महत

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले भण्डै दुईतिहाईको मत प्राप्त सरकारले पार्टीको आन्तरिक कलहका कारणले संसद् विघटन गर्नु दुःखद भएको बताएका छन् । नेपाली कांग्रेसका शुभेच्छुक संस्थाद्वारा संयुक्त रुपमा वीरगञ्जको घण्टाघरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले संसद् विघटनले मुलुकमा आर्थिक, सामाजिक र राजनीतिक संकट सिर्जना भएको आरोप लगाए ।
नेता महतले अब कांग्रेस पार्टीलाई सबै नागरिकको भरोसाको केन्द्र बनाउन आवश्यक रहेको बताउँदै कांग्रेसले संविधानको रक्षा गर्दै ७० वर्षदेखिको परिवर्तनलाई समेत संस्थागत गर्न सक्नुपर्नेमा जोड दिए । नेपाल ट्रेड युनियन कांग्रेस पर्साका अध्यक्ष छोटेलाल साहको अध्यक्षतामा सम्पन्न भएको सभामा कांग्रेस पर्सा अध्यक्ष अजय द्विवेदीले मुलुकमा बढ्दै गएको अपराध, महँगाई, भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकार चुकेको आरोप लगाए ।
यसअघि नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले प्रतिनिधिसभा विघटनविरुद्ध आज वीरगञ्जको घण्टाघर चोकबाट निकालिएको विरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा गरी पुनः घण्टाघर पुगेर सभामा परिणत भएको थियो ।नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल निजामती कर्मचारी युनियन सङ्घ र नेपाल प्रेस युनियनलगायतका शुभेच्छुक संस्थाहरूको आह्वानमा नगर प्रदर्शन गरिएको थियो । प्रदर्शनमा सहभागीहरूले प्रतिनिधसभा पुनः स्थापना गर, संवैधानिक सर्वोच्चता कायम गर र भ्रष्टाचार अन्त्य गरजस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए । (रासस)
प्रकाशित समय १९:४३ बजे