गृहपृष्ठ स्रोत नखुलेको ४९ लाख रूपैयाँसहित भारतीय पक्राउ

स्रोत नखुलेको ४९ लाख रूपैयाँसहित भारतीय पक्राउ

स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्रनजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटी गएको प्रहरी टोलीले शंका लागि जाँच गर्दा मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई नगदसहित पक्राउ गरी आज सार्वजनिक गरिएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

बीआर ०५थ ६४१७ नम्बरमा सवार भारत विहार जिल्ला मोतिहारी थाना हंशपुर ग्राम पञ्चायात वडा नं १० घोडासहान बस्ने २६ वर्षीय अरबिन्द महतो र १४ वर्षीय किशोरलाई पक्राउ गरेको प्रवक्ता मिश्रले बताए । कपडाको झोलामा लुकाइछिपाइ एक हजारको एक हजार ९२३ थान, ५०० को पाँच हजार ७०४ थान, १०० को एक हजार २०० थान र ५० को १०० थान रुपैयाँसहित नेपाल आइरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको एसपी दीपेन्द्र शाहीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको र यस कारोवारमा नेपालीको पनि सहभागिता रहेको हुनसक्ने हुँदा चाँडै नै तिनीहरुलाई कानुनी दायरामा ल्याउने एसपी शाहीले बताए । उनका अनुसार पक्राउ परेका दुवै  जनालाई सम्पत्ति शुद्धीकरण विभाग काठमाडौँमा पठाउने छ । पक्राउ परेका हकमा बिगोको दोब्बर र दुई वर्षदेखि १० वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ । (रासस)

प्रकाशित समय १४:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु