गृहपृष्ठ कोभिड १९ महामारीले नेपाली अर्थतन्त्र डिजिटाइजेसनमा : अनिलकेशरी शाह

कोभिड १९ महामारीले नेपाली अर्थतन्त्र डिजिटाइजेसनमा : अनिलकेशरी शाह

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाहले कोभिड महामारीले नेपाली अर्थतन्त्रलाई डिजिटाइजेसनमा लगेको बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) को सीईओ फोरमले आयोजना गरेको ‘कोभिड महामारीपछिको अवसर’ विषयक छलफलमा उनले भने, ‘महामारी सुरु भएको बेलामा अब के होला र कसरी अघि बढ्ने भन्ने जस्ता शंका र संशय रहे पनि डिजिटाइजेसनमा गएर जनजीवन धेरै सहज भयो ।’

सुरुमा डिजिटाइजेसनमा जान सकिँदैन कि भन्ने संशय रहे पनि विस्तारै नेपालीहरु अभ्यस्त भएको र अहिले डिजिटाइजेसनको विकल्प छैन भन्ने अवस्थामा पुगिएको उनको बुझाइ छ । ‘सुरुका दिनमा कसरी अघि बढ्ने भन्ने अन्योल देखियो, कसरी बैंकिङ क्षेत्र सुचारु गर्न सकिन्छ भनेर सोच्यौं,’ सीईओ शाहले भने, ‘डिजिटल सेवा दिन सुरु गर्‍यौँ, त्यसको केही समय पछिदेखि नै सबै क्षेत्र, सबै उमेर समूह र सबै वर्गका मानिसले डिजिटल बैंकिङ सेवा प्रयोग गर्न थाल्नुभयो ।’

डिजिटल अर्थतन्त्रको विकास भएकाले अहिले जागिर खोज्नेभन्दा जागिर दिनेहरुको संख्या बढेको उनले बताए । तरकारी बजारमा साग किन्दा वा सो रुममा गएर गाडी किन्दा, डिजिटल कारोबार गर्न पाइने इकोसिस्टम बनाउनुपर्ने उनको भनाइ छ ।

वित्तीय क्षेत्रमा प्रविधिसँगै चुनौती पनि थपिएको सीईओ शाहको तर्क छ । ‘जोखिम छ तर जोखिम छ भन्दैमा प्रविधिको प्रयोगलाई पर सार्न सकिँदैन,’ उनले भने, ‘मेरो बैंक, कार्यालयमा आएर खाता खोलिदिनुस्, ऋण लिइदिनुस् भनेर अब बैंक चल्दैन, हामीले जोखिम न्यूनीकरण गरी वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग गर्नुपर्छ ।’

बैंकिङ क्षेत्रमा सर्वसाधारणको अगाध विश्वास रहेको उनले बताए । भूकम्पका बेला वा कोभिड महामारीका बेलामा सर्वसाधारणले आफूसँग भएको रकम बोकेर ल्याएर बैंकमा राखे र ढुक्क भएको महसुस गरेको उदाहरण उनले दिए । ‘बैँकहरूले यो विश्वास गुम्न दिन हुँदैन,’ नेपाल बैँकर एसोसिएसनका पूर्वअध्यक्ष शाहले भने ।

प्रकाशित समय १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु